काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विचौलिया प्रकरणमा सरकार स्वयं जोडिएको विषय सार्वजनिक भएकाले सरकारले मात्रै त्यसको निष्पक्ष छानबिन गर्न नसक्ने बताउनुभएको छ।
उहाँले प्रकरणको वास्तविकता बाहिर ल्याउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ। सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले सरकार, अदालत तथा राज्यका विभिन्न निकायसँग जोडिएका विषयमा गहिरो र निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताउनुभयो।
उहाँले अदालत, सरकार र समग्र राज्य संरचनालाई विचौलियामुक्त बनाउनुपर्ने उल्लेख गर्दै प्रकरणमा महत्वपूर्ण निकाय तथा व्यक्तिहरूको नाम जोडिएर आएकाले स्वतन्त्र छानबिन हुनुपर्ने धारणा राख्नुभयो। पौडेलले छानबिनको निष्पक्षतामाथि नै प्रश्न उठिरहेको अवस्थामा सरकारले आफैँ अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन सक्नेमा आशंका व्यक्त गर्नुभयो। त्यसैले संसदीय समिति बनाएर घटनाको गहिराइसम्म पुग्नुपर्ने उहाँको भनाइ छ।
महामन्त्री पौडेलले पछिल्लो समय पत्रकार तथा सञ्चारमाध्यममाथि नियन्त्रण र दबाब सिर्जना गर्ने प्रयास भएको भन्दै आपत्ति जनाउनुभयो। दुई तिहाइको सरकार गठन भएपछि प्रेस स्वतन्त्रता अझ सुरक्षित र विकसित हुने अपेक्षा गरिएको भए पनि पत्रकारमाथि हस्तक्षेप तथा सञ्चारमाध्यमलाई तर्साउने गतिविधि भइरहेको उहाँले आरोप लगाउनुभयो।
उहाँले सत्तारुढ दलका नेताहरूले समेत पत्रकारमाथि भइरहेको हस्तक्षेपको विरोध गरेको उल्लेख गर्दै सरकारका गतिविधिप्रति असहमति भए निष्पक्ष छानबिनको मागमा विपक्षीसँगै उभिनुपर्ने बताउनुभयो। सरकारको कामप्रति सत्तारुढ दलकै असहमति रहेको हो भने त्यसको जिम्मेवारीबाट अलग हुनेभन्दा पनि निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्ने मागलाई समर्थन गर्नुपर्ने उहाँको धारणा छ।
पौडेलले विचौलिया प्रकरणको छानबिनका लागि संसद्को बैठक तत्काल बोलाउनुपर्ने बताउनुभयो। घटनाको निष्पक्ष अनुसन्धान गर्न संसदीय समिति गठन गर्नु आवश्यक रहेको उहाँले दोहो¥याउनुभयो। त्यसैगरी, विवादमा परेका न्यायाधीशहरूमाथि महाभियोग लगाउने विषयमा पनि कांग्रेसले अन्य विपक्षी दलहरूसँग छलफल गरेर अघि बढ्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो।
विचौलिया प्रकरण, प्रेस स्वतन्त्रता र न्यायिक क्षेत्रसँग जोडिएका विषयमा निष्पक्ष छानबिन हुनुपर्ने मागसहित कांग्रेसले संसदीय प्रक्रियामार्फत दबाब अघि बढाउने संकेत गरेको छ।








