२०८३ कात्तिक १६ , सोमबार

विनिता गुरुङले जितिन् ‘मिसेस नेपाल वल्र्ड–२०२६’को उपाधि, अमेरिकामा नेपालको प्रतिनिधित्व गर्ने



काठमाडौं। नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङले ‘मिसेस नेपाल वल्र्ड–२०२६’को उपाधि जित्नुभएको छ। शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजित प्रतियोगितामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले उपाधि हात पार्नुभएको हो।

रिवन इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा खोटाङको दिक्तेल निवासी गुरुङले मुख्य उपाधिसँगै ‘वेष्ट पर्सनालिटी’को अवार्डसमेत जित्नुभयो। उपाधिसँगै उहाँले स्कुटर प्राप्त गर्नुभएको छ। पेशाले अधिवक्तासमेत रहनुभएकी गुरुङले अब अमेरिकामा आयोजना हुने विवाहित महिलाहरूको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ।

प्रतियोगितामा नेहा गुप्ता फष्ट रनर्सअप घोषित हुनुभयो। उहाँले ‘रिवन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाइस’को उपाधिसमेत प्राप्त गर्नुभयो। त्यस्तै, ज्योति लामिछाने सेकेण्ड रनर्सअप र सगुन खनाल थर्ड रनर्सअप हुनुभयो। खनालले ‘वेष्ट फिजिक’को उपाधिसमेत जित्नुभयो। अन्य मुख्य विधातर्फ शिल्पा न्यौपाने महर्जन ‘मिसेस नेपाल इन्टरनेसनल–२०२६’, क्रिस्टिना ज्ञवाली ‘मिसेस कोस्मो–२०२६’ र ऋचा शर्मा ‘एमएस इन्टरनेसनल–२०२६’ घोषित हुनुभयो।

यी तीनै उपाधिका विजेताले जनही ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। आयोजकका अनुसार मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलका विजेताले सिंगापुर तथा मिसेस कोस्मोकी विजेताले म्यानमारमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन्।

कार्यक्रममा नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वल्र्ड–२०२६’ उपाधिबाट सम्मान गरिएको थियो।नेपाली चलचित्र क्षेत्रमा साढे तीन दशकभन्दा लामो समयदेखि पु¥याएको योगदान, उपलब्धि र प्रेरणादायी व्यक्तित्वको कदर गर्दै उहाँलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

निरुताको सम्मानमा उहाँले अभिनय तथा नृत्य गरेका चलचित्रका गीतमा कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंहले समेत मञ्चमा नृत्य प्रस्तुत गर्नुभएको थियो।

प्रतियोगितामा मुख्य उपाधिबाहेक विभिन्न विधामा समेत प्रतिस्पर्धीहरूलाई सम्मान गरिएको थियो। सन्ध्या लामाले ‘अर्ना मोष्ट इनर्जेटिक’, सुष्मा थापाले ‘निभिया फ्याबुलस फेस’ तथा ‘केडी फोटोग्राफी मोष्ट फोटोजेनिक’को उपाधि जित्नुभयो। त्यसैगरी अञ्जु परियार ‘मोष्ट ट्यालेन्टेड’, शिल्पा न्यौपाने महर्जन ‘वेष्ट हेयर’, दीप्ति ढुंगेल ‘हेल्दी स्किन’ र क्रिस्टिना ज्ञवाली ‘वेष्ट ¥याम्प वाक’ घोषित हुनुभयो।

ऋचा शर्माले ‘मोष्ट पङ्चुअल’, समीक्षा रानाभाटले ‘वेष्ट स्माइल’, श्वेच्छा पौड्यालले ‘मोष्ट डिसिप्लिन्ड’, कञ्चन महर्जनले ‘फेसन आइकन’ र बिन्दु थापा राणाले ‘मोष्ट कन्फिडेन्ट’को उपाधि प्राप्त गर्नुभयो। यस्तै, यास्मिन बेगम सैयद ‘मिसेस कन्जेनियालिटी’ र सुनिता श्रेष्ठ कर्माचार्य ‘मिसेस ह्युम्यानिटेरियन’ घोषित हुनुभयो।

प्रतियोगिताका विजेताहरूलाई मिसेस वल्र्ड–२०२५ की विजेता चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी), अभिनेता राजेश हमाल, अभिनेत्री रेखा थापालगायतले पुरस्कार तथा उपाधि प्रदान गर्नुभएको थियो। अश्विनी झाको कोरियोग्राफी र निशा बराइलीको सहकोरियोग्राफीमा सम्पन्न कार्यक्रमको संयोजन गंगा महर्जन र विन्दिया श्रेष्ठले गर्नुभएको थियो।

आयोजकका अनुसार प्रतियोगिताले विवाहित महिलाहरूलाई आफ्नो प्रतिभा, क्षमता र व्यक्तित्व प्रदर्शन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान स्थापित गर्ने अवसर प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १६ गते सोमबार