सुर्खेत। सुर्खेतको ऐतिहासिक तथा पुरातात्त्विक पर्यटकीय स्थल काँक्रेविहार पुग्ने सडक जीर्ण बन्दा पर्यटक तथा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ।
वीरेन्द्रनगर नगरपालिका–९ स्थित लाटीकोइली डाँडादेखि करिब डेढ किलोमिटरको दूरीमा रहेको काँक्रेविहार पुग्ने सडकमा खाल्टाखुल्टी बढेपछि आवतजावत कठिन बनेको हो। सडकको अवस्था बिग्रिँदै जाँदा अटो तथा साना सवारीसाधनलाई उकालोमा चढ्नसमेत समस्या हुने गरेको छ। सडक मर्मत तथा स्तरोन्नति नहुँदा पर्यटकको आवागमनमा समेत असर परेको स्थानीयको भनाइ छ। ढुङ्गाबाट निर्मित कलात्मक मन्दिर अवलोकन गर्न दैनिक सयौँ पर्यटक काँक्रेविहार पुग्ने गरेका छन्। तर, त्यहाँसम्म पुग्ने सडकको दयनीय अवस्थाका कारण पर्यटकले असहज यात्रा गर्नुपरेको गुनासो गरेका छन्। यसले ऐतिहासिक सम्पदाको पर्यटन प्रवर्द्धनमा समेत बाधा पुर्याएको छ।
काँक्रेविहार संरक्षण क्षेत्रसँग सम्बन्धित सामाजिक सञ्जालमार्फत स्थानीयले सडकको अवस्था सुधार गर्न सम्बन्धित निकायको पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन्। ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको पर्यटकीय स्थलसम्म पुग्ने सडक तत्काल स्तरोन्नति गर्न उनीहरूले माग गरेका छन्। वीरेन्द्रनगर नगरपालिका–९ का वडाध्यक्ष ऋषि गिरीले सडक स्तरोन्नतिका लागि सम्बन्धित निकायलाई बारम्बार आग्रह गरिएको बताउनुभयो।
यता, पूर्वाधार विकास कार्यालय सुर्खेतले भने काँक्रेविहार पुग्ने सडकको स्तरोन्नति एक साताभित्र सुरु गर्ने जनाएको छ। कार्यालयका इन्जिनियर विकास न्यौपानेका अनुसार कमलेश पराजुली जेभी, सर्लाहीले काँक्रेविहार पुग्ने सडक र रातानाङ्ला सडक स्तरोन्नतिका लागि छ करोड ६५ लाख रुपियाँमा ठेक्का पाएको छ। ठेकेदारलाई दसैँअघि नै काम सुरु गर्न निर्देशन दिइए पनि चाडपर्वका कारण काम अघि बढ्न नसकेको उहाँले बताउनुभयो। अबको एक साताभित्र सडक मर्मत तथा स्तरोन्नतिको काम सुरु हुने उहाँको भनाइ छ।
सडक स्तरोन्नतिको काम समयमै सम्पन्न भए काँक्रेविहार पुग्ने पर्यटकलाई सहज हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।








