२०८३ कात्तिक १० , मंगलबार

एनपीएलमा आज दुई रोमाञ्चक भिडन्त, चितवनले विराटनगर र जनकपुरले कर्णालीसँग खेल्ने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सको सामना गर्नेछ।

प्रतियोगिताको पहिलो दिन सोमबार लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो। पहिलो दिन एक खेल मात्र आयोजना भएकोमा दोस्रो दिन दुई खेल हुन लागेका हुन्। आज बिहान हुने पहिलो खेलमा कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोज र सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्ग्स आमनेसामने हुनेछन्। दुवै टोलीमा अनुभवी नेपाली खेलाडीसँगै विदेशी खेलाडीको उपस्थिति रहेकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

विराटनगरको टोलीमा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद र सुजन थपलियालगायतका खेलाडी छन्। विदेशी खेलाडीमध्ये आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, चरिथ असलंका, इमरान शेख, प्रतीक श्रेष्ठ र शुभम रन्जाने टोलीमा रहेका छन्। त्यस्तै, चितवन राइनोजमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमल सिंह ऐरी, दीपक बोहरा, रञ्जित कुमार, रवि बोपारा, सिकन्दर राजा र कलिम साना प्रमुख खेलाडीका रूपमा छन्। टोलीमा विवेक यादव, मौसम ढकाल, विपिन रावल, हसन अली, गौतम केसी, सलाहुद्दिन खान र उसामा मीर पनि समावेश छन्।

मंगलबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। हर्मित सिंहको कप्तानीमा रहेको जनकपुरमा कुशल परेरा, ललित राजवंशी, मयन यादव, अनिल साह, विकास आग्री, आदित्य मेहता र तृतराज दासलगायतका खेलाडी छन्। यस्तै, जिमी नीशम, मोइन अली, इफ्तिकार अहमद, अभिषेक तिवारी, विशाल पटेल, रित गौतम, सन्तोष कार्की र अन्य खेलाडीले पनि टोलीमा स्थान पाएका छन्।

अर्कोतर्फ, सोमपाल कामीको कप्तानीमा मैदान उत्रने कर्णाली याक्समा विदेशी खेलाडी डेभिड मिलरसहित नन्दन यादव, युवराज खत्री, पवन सर्राफ, विपिनप्रसाद शर्मा, दीपक डुम्रे, युनिश सिंह ठकुरी, शुभ कंसाकार, दीपेन्द्र रावत, सूर्य तामाङ, सचिन शर्मा र दिवान पुनलगायतका खेलाडी छन्।

एनपीएलको समूह चरणका खेल कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन्। त्यसपछि मङ्सिर १ गते शीर्ष दुई टोलीबीच पहिलो क्वालिफायर खेल हुनेछ। मङ्सिर २ गते तेस्रो र चौथो स्थानमा रहने टोलीले इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् मङ्सिर ३ गते दोस्रो क्वालिफायर खेल हुनेछ, जसमा पहिलो क्वालिफायरमा पराजित टोली र इलिमिनेटरको विजेता भिड्नेछन्। प्रतियोगिताको उपाधिका लागि फाइनल खेल मङ्सिर ५ गते आयोजना हुनेछ।

प्रकाशित मिति : २०८३ कात्तिक १० गते मंगलबार