विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटको प्रक्रिया अघि बढाएको छ। निर्वाचनको तयारीस्वरूप पार्टीले सम्भावित उम्मेदवारको पहिचान, क्षमता मूल्याङ्कन र प्रशिक्षणलाई प्राथमिकता दिँदै ‘क्यान्डिडेट क्लब’ कार्यक्रम सञ्चालन गरिरहेको छ।
अन्य राजनीतिक दलमा निर्वाचन नजिकिएपछि उम्मेदवार छनोट गर्ने अभ्यास देखिँदै आए पनि रास्वपाले भने समयअगावै आकाङ्क्षीको विवरण संकलन तथा उनीहरूको नेतृत्व क्षमता परीक्षण गर्न थालेको जनाएको छ। पार्टीका अनुसार गाउँपालिका तहमा मात्रै उम्मेदवार बन्न इच्छुक २० हजारभन्दा बढीले आवेदन दिएका छन्।
यसैबीच, विराटनगर महानगर समितिले सोमबार स्थानीय तह निर्वाचनको तयारी र उम्मेदवार छनोट प्रक्रियाबारे अन्तरक्रिया आयोजना गरेको थियो। विराटनगर बसपार्कस्थित आरके पार्टी प्यालेसमा भएको कार्यक्रममा महानगरका १९ वटै वडाका सभापति तथा नगरपालिका, गाउँपालिका, जिल्ला, प्रदेश र केन्द्र तहका नेता तथा कार्यकर्ताको सहभागिता थियो। कार्यक्रममा करिब छ घण्टासम्म निर्वाचन रणनीति, आकाङ्क्षीको तयारी र छनोट विधिबारे छलफल भएको थियो। कार्यक्रममा रास्वपाकी केन्द्रीय सचिवालय सदस्य लिमा अधिकारी, सचेतक प्रकाशचन्द्र परियार र केन्द्रीय सदस्य रोहन कार्कीलगायतका नेताहरू सहभागी थिए।
रास्वपाभित्र विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि मात्रै ५० जनाभन्दा बढीले आकाङ्क्षा देखाएको चर्चा रहेको छ। अन्तरक्रियामा मेयर, उपमेयर तथा वडाध्यक्षका सम्भावित उम्मेदवारहरूले आफ्ना योजना र कार्ययोजना प्रस्तुत गरेका थिए। केन्द्रीय सचिवालय सदस्य अधिकारीका अनुसार कार्यक्रमको उद्देश्य स्थानीय नेता तथा कार्यकर्ताको धारणा बुझ्नु, उनीहरूका गुनासा सुन्नु र निर्वाचनका लागि भइरहेको तयारीको मूल्याङ्कन गर्नु थियो।
उनले केही आकाङ्क्षीले स्पष्ट योजना र काम गर्ने दृष्टिकोण प्रस्तुत गरेको बताउँदै कतिपयको तयारीमा अझै सुधार आवश्यक देखिएको उल्लेख गरिन्। पार्टीले सम्भावित उम्मेदवारलाई प्रारम्भिक चरणमै आफ्नो क्षमता देखाउने अवसर दिएको र आगामी दिनमा आवश्यक प्रशिक्षणमार्फत उनीहरूलाई थप तयार पार्ने योजना बनाएको उनको भनाइ छ।
रास्वपाले पार्टीबाहिर रहेका योग्य, अनुभवी र समाजमा स्थापित व्यक्तिलाई समेत नेतृत्वमा ल्याउने नीति अपनाएको छ। ‘ल्याटरल इन्ट्री’ भनिने यो व्यवस्थामार्फत विभिन्न क्षेत्रमा क्षमता प्रदर्शन गरेका व्यक्तिलाई स्थानीय तहको नेतृत्वमा सहभागी गराउन खोजिएको अधिकारीले बताइन्।उनका अनुसार महानगरको प्रमुख वा उपप्रमुखजस्ता जिम्मेवारीका लागि सामान्य तयारी मात्र पर्याप्त नहुने भएकाले आकाङ्क्षीले व्यवस्थित कार्ययोजना र स्पष्ट दृष्टिकोणसहित प्रस्तुत हुन आवश्यक छ।
उम्मेदवार छनोटमा विधि र निष्पक्षतामा जोड
अन्तरक्रियामा सहभागी कार्यकर्ता तथा आकाङ्क्षीहरूले उम्मेदवार छनोट प्रक्रिया पारदर्शी, निष्पक्ष र पूर्वनिर्धारित मापदण्डअनुसार हुनुपर्ने माग राखेका थिए। छनोटको मापदण्ड घोषणा गरेर अन्तिम समयमा त्यसविपरीत निर्णय गर्ने परम्परा पार्टीभित्र दोहोरिन नहुने उनीहरूको धारणा थियो। अधिकारीका अनुसार सहभागीहरूले ‘क्यान्डिडेट क्लब’ को प्रक्रियाबारे जिज्ञासा राख्नुका साथै छनोट प्रणालीलाई प्रभावकारी बनाउने सुझाव पनि दिएका थिए। पार्टीले तय गरेको विधि व्यवहारमा पनि इमानदारीपूर्वक लागू हुनुपर्ने विषयमा कार्यकर्ताले विशेष जोड दिएको उनले बताइन्। रास्वपाले पनि उम्मेदवार छनोटमा व्यक्तिगत सम्बन्ध, नेताको सिफारिस वा भनसुनभन्दा निर्धारित मापदण्डलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।
रास्वपाले सञ्चालन गरेको ‘क्यान्डिडेट क्लब’ मा स्थानीय तहका विभिन्न पदका लागि आवेदन दिनेहरूको संख्या उल्लेख्य रहेको पार्टीले जनाएको छ। केन्द्रीय सचिवालय सदस्य अधिकारीका अनुसार गाउँपालिका तहमा मात्रै २० हजारभन्दा बढी आवेदन प्राप्त भएका छन्।नगरपालिका तहको आवेदन प्रक्रिया भने जारी रहेको उनले बताइन्। नगरपालिकाको प्रक्रिया पूरा भएपछि उपमहानगरपालिका र महानगरपालिकाका लागि पनि आवेदन खुला गर्ने तयारी रहेको छ।
सबै तहबाट आवेदन संकलन भएपछि आकाङ्क्षीहरूलाई लिडरसिप एकेडेमीमार्फत प्रशिक्षण दिने र त्यसपछि आन्तरिक निर्वाचनको प्रक्रिया अघि बढाउने पार्टीको योजना रहेको अधिकारीले जानकारी दिइन्।
चार आधारमा उम्मेदवार छनोट गर्ने योजना
रास्वपाले उम्मेदवार छनोटका लागि चारवटा आधार तय गरेको जनाएको छ। पार्टीले सार्वजनिक गरेको विवरणअनुसार छनोट प्रक्रियामा राजनीतिक सामीप्यता, नेतृत्वसम्बन्धी प्रशिक्षण, समावेशिता र आन्तरिक निर्वाचनलाई निश्चित भाराङ्क दिइएको छ।
छनोटका आधार र भाराङ्क यसप्रकार छन् ः
राजनीतिक सामीप्यता ः २५ प्रतिशत
लिडरसिप एकेडेमी तथा नेतृत्वसम्बन्धी प्रशिक्षण ः २५ प्रतिशत
समावेशिता ः १० प्रतिशत
आन्तरिक प्राइमरी निर्वाचन ः ४० प्रतिशत
अधिकारीका अनुसार आन्तरिक निर्वाचनबाट प्राप्त हुने मतलाई छनोट प्रक्रियामा ४० प्रतिशत भाराङ्क दिइनेछ। यसअन्तर्गत सम्बन्धित क्षेत्रका योग्य पार्टी सदस्यले मतदान गर्ने व्यवस्था रहनेछ। आन्तरिक निर्वाचनको भाराङ्कभित्र पनि विभिन्न तहलाई छुट्टाछुट्टै हिस्सा निर्धारण गरिएको उनले बताइन्। उनका अनुसार वडास्तरलाई सबैभन्दा बढी ६० देखि ७० प्रतिशतसम्म भाराङ्क दिइने व्यवस्था छ। बाँकी हिस्सा पालिका, जिल्ला, निर्वाचन क्षेत्र र प्रदेश तहमा बाँडिएको छ। केन्द्रीय सदस्य तथा सांसदहरूको हिस्सा भने उक्त आन्तरिक निर्वाचनको भाराङ्कभित्र १० प्रतिशत मात्रै रहने अधिकारीको भनाइ छ। यस व्यवस्थाले स्थानीय तहका सदस्यको भूमिका बलियो बनाउने र केन्द्रका नेताको प्रभावमा उम्मेदवार छनोट हुने सम्भावना घटाउने पार्टीको अपेक्षा छ।
सातै प्रदेशमा निर्वाचन केन्द्रित कार्यक्रम गर्ने तयारी
विराटनगरमा गरिएको अन्तरक्रियालाई आधार बनाएर यस्तै कार्यक्रम देशभर विस्तार गर्नुपर्ने सुझाव पार्टी नेतृत्वसमक्ष राख्ने अधिकारीले बताएकी छन्। उनका अनुसार महानगरपालिका, उपमहानगरपालिका तथा अन्य पालिका तहमा पनि यस्ता छलफल आयोजना गर्न आवश्यक छ। स्थानीय स्तरमा नियमित अन्तरक्रिया गर्दा आकाङ्क्षीको तयारी बुझ्न, कार्यकर्ताका समस्या पहिचान गर्न र निर्वाचनसम्बन्धी रणनीति प्रभावकारी बनाउन सहयोग पुग्ने उनको विश्वास छ। अधिकारीले सातै प्रदेशमा यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै पार्टीको राजनीतिक दृष्टिकोण र उम्मेदवार छनोटको विधिबारे कार्यकर्तालाई स्पष्ट जानकारी दिनुपर्ने बताइन्।
रास्वपाले स्थानीय निर्वाचनको तयारीलाई व्यवस्थित बनाउने क्रममा क्षमता, योग्यता र आन्तरिक प्रतिस्पर्धालाई प्राथमिकता दिने नीति अघि सारेको छ। पार्टीको दाबीअनुसार यस प्रक्रियाले परम्परागत रूपमा देखिँदै आएको भनसुन र व्यक्तिगत पहुँचमा आधारित टिकट वितरणको अभ्यासलाई निरुत्साहित गर्नेछ। यद्यपि, घोषित मापदण्ड व्यवहारमा कत्तिको निष्पक्ष रूपमा कार्यान्वयन हुन्छ भन्ने विषय आगामी छनोट प्रक्रियाले निर्धारण गर्नेछ।








