काठमाडौँ। कर्णाली प्रदेशका पहाडी तथा दुर्गम क्षेत्रमा हवाई सेवा सञ्चालनका क्रममा देखिएका समस्या समाधान गरी उडानलाई थप प्रभावकारी बनाउने विषयमा सरोकारवालाबिच छलफल भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को सहभागितामा भएको छलफलमा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, मन्त्रालयका सचिव तथा सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक र कर्णालीका पहाडी क्षेत्रमा हवाई सेवा प्रदान गर्दै आएका निजी वायुसेवा सञ्चालक सहभागी थिए।
छलफलका क्रममा कर्णालीका दुर्गम क्षेत्रमा हवाई उडान सञ्चालन गर्दा देखिने व्यावहारिक कठिनाइ, सेवा प्रवाहमा रहेका समस्या तथा तिनको समाधानका सम्भावित उपायबारे विचारविमर्श गरिएको थियो। कर्णालीका पहाडी क्षेत्रमा हवाई यातायातलाई सहज, नियमित र प्रभावकारी बनाउने उद्देश्यले समस्या पहिचान गरी आवश्यक सुधारका उपाय अघि बढाउने विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ।
दुर्गम भौगोलिक बनावटका कारण सडक यातायातको पहुँच सीमित रहेका कर्णालीका विभिन्न क्षेत्रमा हवाई सेवा महत्त्वपूर्ण यातायात माध्यमका रूपमा रहेको छ। त्यसैले उडान सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित निकाय तथा वायुसेवा सञ्चालकबिच समन्वय आवश्यक रहेको देखिन्छ।








