२०८३ कात्तिक १० , मंगलबार

साउदीमा उडान प्रभावित हुँदा नेपाली यात्रु अलपत्र, टिकटको भाडा एक लाखसम्म



काठमाडौं । साउदी अरबमा बढ्दो सुरक्षा चुनौती र उडानमा परेको अवरोधका कारण नेपाल फर्किने तयारीमा रहेका नेपाली श्रमिक तथा यात्रु समस्यामा परेका छन्।

नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले केही उडान रद्द गरेपछि विशेषगरी चाडपर्वका लागि स्वदेश आउन खोजेका नेपाली अन्योलमा परेका हुन्। रियादबाट काठमाडौंका लागि हुने नियमित उडान प्रभावित हुँदा यात्रुले बढी सास्ती खेप्नुपरेको छ। दमाम र जेद्दाबाट भने केही उडान सञ्चालन भइरहेका छन्। अन्य विमान कम्पनीले पनि उपलब्धताअनुसार अलकासिम, हाइल र मदिनालगायतका विमानस्थलबाट सेवा दिइरहेका छन्।

तर, निर्धारित गन्तव्यबाट उडान नहुँदा यात्रुहरू वैकल्पिक विमानस्थलको खोजीमा लाग्न बाध्य छन्। रियादबाट अन्य विमानस्थलसम्म पुग्न लामो दूरी तय गर्नुपर्ने भएकाले यात्रुको समय र खर्च दुवै बढेको छ। समाचारमा उल्लेख भएअनुसार, अक्टोबर ८ देखि २५ सम्म रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलका निर्धारित उडानमध्ये ८६ प्रतिशत रद्द भएका थिए।

उडान संख्या घट्नु र यात्रुको चाप बढ्नुको प्रत्यक्ष असर हवाई टिकटको मूल्यमा परेको छ। सामान्य अवस्थामा तुलनात्मक रूपमा सस्तो पर्ने टिकटसमेत अहिले महँगोमा किन्नुपर्ने अवस्था आएको यात्रुहरूको गुनासो छ। कतिपय यात्रुले नेपाल फर्किन एकतर्फी टिकटमै ५० हजारदेखि एक लाख रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको बताएका छन्। उडानको अनिश्चिततासँगै टिकटको मूल्य बढ्दा आर्थिक भार थपिएको छ।

चाडपर्वमा परिवारसँग समय बिताउने योजनासहित बिदा मिलाएका श्रमिकहरू उडान रद्द भएपछि समस्यामा परेका छन्। नेपाल फर्किने मिति निश्चित नहुँदा कम्पनीमा पुनः काममा उपस्थित हुनुपर्ने समय र बिदाको व्यवस्थापनमा समेत कठिनाइ उत्पन्न भएको छ। साउदी अरबबाट नेपाल आउने यात्रु मात्र नभई नेपालबाट त्यहाँ फर्किने यात्रु पनि प्रभावित भएका छन्।

उडान रद्द हुने तथा सीमित संख्यामा सञ्चालन हुने क्रमले साउदी अरबमा रहेका नेपाली ट्राभल्स व्यवसायीलाई समेत समस्यामा पारेको छ। यात्रुको टिकट पुनः बुकिङ गर्ने, वैकल्पिक उडान खोज्ने, नयाँ मिति तय गर्ने र रकम फिर्ताको प्रक्रिया मिलाउने काम चुनौतीपूर्ण बनेको छ।उडानको टुंगो नलाग्दा यात्रुलाई समयमै गन्तव्यमा पठाउन नसकिएको र त्यसले व्यवसायीमाथि दबाब बढाएको बताइएको छ। टिकटको मूल्यमा भएको वृद्धि र उडानको अनिश्चितताका कारण यात्रु तथा व्यवसायी दुवैले आर्थिक जोखिम बेहोर्नुपरेको छ।

साउदी अरबस्थित नेपाली राजदूतावास, रियादले त्यहाँ रहेका नेपालीलाई स्थानीय अधिकारीका सुरक्षा निर्देशन पालना गर्न र अपुष्ट सूचना सामाजिक सञ्जालमा फैलाउनबाट जोगिन आग्रह गरेको छ। विमानस्थल जानुअघि सम्बन्धित एयरलाइन्ससँग उडानको पछिल्लो अवस्था बुझ्न तथा आपत्कालीन परिस्थितिमा दूतावाससँग सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।

साउदी अरबका लागि नेपाली पर्यटन दूत राजेन्द्र अर्यालले पनि सुरक्षा अवस्थालाई ध्यानमा राखेर आधिकारिक सूचनाका आधारमा मात्र यात्रा योजना बनाउन आग्रह गरेका छन्। उडान रद्द भएर समस्यामा परेका नेपालीलाई सहजीकरण गर्न सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उनको भनाइ छ। नेपाली समुदायका प्रतिनिधिहरूले पनि यात्रुको सुरक्षा, स्वदेश फर्किन चाहने नेपालीको समस्याको समाधान र सही सूचना सहज रूपमा उपलब्ध गराउने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार, वैकल्पिक विमानस्थलसम्म पुग्नुपर्ने बाध्यता र अतिरिक्त खर्चले यात्रुको समस्या थप जटिल बनाएको छ।

वर्तमान परिस्थितिमा नेपाली राजदूतावास, एयरलाइन्स, ट्राभल्स व्यवसायी र साउदी अरबमा सक्रिय नेपाली संघसंस्थाबीच प्रभावकारी सहकार्य आवश्यक देखिएको छ। उडानको अवस्थाबारे नियमित जानकारी उपलब्ध गराउने, टिकट पुनः व्यवस्थापनमा सहजीकरण गर्ने र समस्यामा परेका यात्रुलाई आवश्यक सहयोग पु¥याउने कामलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।

यात्रुले पनि टिकट खरिद गर्नुअघि उडानको अवस्था सम्बन्धित एयरलाइन्ससँग पुष्टि गर्न आवश्यक छ। अपुष्ट सूचना वा हल्लाका आधारमा यात्रा योजना बनाउँदा थप आर्थिक क्षति हुन सक्ने भएकाले आधिकारिक जानकारीलाई आधार बनाउनुपर्ने हुन्छ। चाडपर्वको समयमा परिवारसँग भेटघाट गर्न नपाउँदा नेपाली श्रमिकमा बढेको चिन्ता कम गर्न सम्बन्धित निकायले समन्वित पहल गर्नुपर्ने देखिन्छ। सुरक्षा अवस्था सहज हुँदै जाँदा उडान सेवा नियमित बनाउन र यात्रुलाई सुरक्षित तथा सहज रूपमा स्वदेश फर्किने वातावरण तयार गर्न सम्बन्धित पक्षको सक्रियता महत्त्वपूर्ण हुनेछ।

प्रकाशित मिति : २०८३ कात्तिक १० गते मंगलबार