२०८३ कात्तिक १३ , शुक्रबार

नेपालका थप ६ हिमाललाई ८ हजार मिटरमाथिको सूचीमा समेट्न अन्तर्राष्ट्रिय पहल



काठमाडौं । नेपालका थप ६ वटा हिमाललाई ८ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा समावेश गराउन नेपालले औपचारिक प्रस्ताव अघि सारेको छ।

काठमाडौंमा जारी अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को महासभामा नेपालले यससम्बन्धी अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय मान्यताका लागि पहल गरेको हो। हाल नेपालका ८ वटा हिमालले ८ हजार मिटरभन्दा बढी उचाइ भएका हिमालको मान्यता पाएका छन्। प्रस्तावित ६ हिमालले पनि मान्यता पाए नेपालमा यस्ता हिमालको संख्या १४ पुग्नेछ। दुई दिने महासभाको उद्घाटन सत्रमा नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर्वा गेल्जे शेर्पाले थप ६ हिमालको भौगोलिक अवस्था, उचाइ तथा तिनलाई छुट्टाछुट्टै हिमालका रूपमा पहिचान गर्नुपर्ने आधारसहितको प्रतिवेदन प्रस्तुत गरेका हुन्।

कुन–कुन हिमाललाई मान्यता दिलाउन खोजिँदैछ?

नेपालले अन्तर्राष्ट्रिय मान्यताका लागि प्रस्ताव गरेका ६ हिमालको उचाइ निम्नअनुसार रहेको छ।

यालुङ काङ – ८ हजार ५०५ मिटर

कञ्चनजङ्घा दक्षिण – ८ हजार ४७६ मिटर

कञ्चनजङ्घा मध्य – ८ हजार ४७३ मिटर

ल्होत्से मध्य – ८ हजार ४१० मिटर

ल्होत्से शार – ८ हजार ४०० मिटर

यालुङ काङ पश्चिम – ८ हजार ७७ मिटर

नेपाल पर्वतारोहण संघले यी हिमालको पहिचान र उचाइसम्बन्धी अध्ययन गर्न छुट्टै टोली गठन गरेको थियो। उक्त टोलीले स्थलगत तथा भौगोलिक अध्ययनमार्फत प्रत्येक हिमालको छुट्टै चुचुरो र अलग आरोहण मार्ग रहेको प्रमाण संकलन गरेको अध्यक्ष शेर्पाले बताएका छन्।उनका अनुसार अध्ययनबाट प्राप्त विवरणका आधारमा यी हिमाललाई अलग–अलग ८ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा मान्यता दिनुपर्ने प्रस्ताव गरिएको हो।

प्रस्तावित ६ वटै हिमालले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरे नेपालमा ८ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ पुग्नेछ। त्यसैगरी विश्वभर यस्ता हिमालको संख्या २० पुग्नेछ। महासभाको उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको प्रस्ताव स्वीकृत भए विश्वका २० वटा आठ हजार मिटरमाथिका हिमालमध्ये १४ वटा नेपालमा रहेको पहिचान स्थापित हुने बताएका छन्।

उनका अनुसार यसबाट नेपाल विश्वका अग्ला हिमालहरूको प्रमुख गन्तव्यका रूपमा थप परिचित हुनेछ। साथै पर्वतारोहण, साहसिक पर्यटन, हिमाली क्षेत्रको अनुसन्धान, हिमाली अर्थतन्त्र र अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा नयाँ अवसर सिर्जना हुन सक्नेछ। मन्त्री पौडेलले नेपालको यो पहल हिमालको संख्या बढाउने विषयमा मात्र सीमित नरहेको उल्लेख गरेका छन्। उनका अनुसार वैज्ञानिक अध्ययन र प्रमाणका आधारमा नेपालको हिमाली भूगोल, प्राकृतिक सम्पदा तथा पर्वतीय पहिचानलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष स्थापित गर्ने उद्देश्य यसमा जोडिएको छ।

काठमाडौंमा जारी यूआईएएको महासभामा ४५ देशका ९५ जना प्रतिनिधि सहभागी छन्। अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रसँग सम्बन्धित विषयमा छलफल हुने यस महासभामा नेपालले आफ्नो हिमाली सम्पदाको पहिचान र अन्तर्राष्ट्रिय मान्यतासम्बन्धी प्रस्ताव अघि बढाएको हो। यसअघि नेपालमा सन् १९८२ र २०११ मा पनि यूआईएको महासभा आयोजना भएको थियो। नेपालको पछिल्लो प्रस्तावले अन्तर्राष्ट्रिय मान्यता पाउने वा नपाउने विषय महासंघको अध्ययन तथा निर्णय प्रक्रियामा निर्भर रहनेछ। प्रस्ताव स्वीकृत भए नेपालको पर्वतीय पहिचानसँगै पर्वतारोहण र हिमाली पर्यटनको सम्भावना थप विस्तार हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १३ गते शुक्रबार