काठमाडौं । नेपालको अग्नि नियन्त्रण सेवाको इतिहाससँग जोडिएको पहिलो तथा करिब १०९ वर्ष पुरानो ऐतिहासिक दमकल सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ।
काठमाडौंको वसन्तपुरस्थित जुद्ध वारुण यन्त्र परिसरमा सङ्ग्रहालय स्थापना गरी उक्त दमकलसहित विगतमा प्रयोग गरिएका अग्नि नियन्त्रणका उपकरणहरू अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको हो। ऐतिहासिक महत्व बोकेको दमकललाई पुरानै स्वरूपमा संरक्षण गर्दै नयाँ पुस्तालाई यसको इतिहासबारे जानकारी गराउने उद्देश्यले प्रदर्शनीमा राखिएको हो। त्यसका लागि दमकलको मर्मतसम्भार, सरसफाइ तथा रङरोगन गरेर व्यवस्थित रूपमा राखिएको छ।
नेपालमा दमकल भित्र्याउने काम तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर जङ्गबहादुर राणाको पालामा भएको थियो। विसं १९९४ मा उहाँले वसन्तपुरमा जुद्ध वारुण यन्त्र स्थापना गरी बेलायतबाट पहिलोपटक दमकल ल्याउनुभएको इतिहास छ। काठमाडौंको ऐतिहासिक सेतो दरबारमा भएको भीषण आगलागीपछि आगो नियन्त्रण गर्ने उद्देश्यले बेलायतबाट दमकल मगाइएको बताइन्छ।
त्यतिबेला काठमाडौं उपत्यका सडकमार्गबाट तराई तथा भारतसँग जोडिएको थिएन। त्यसैले बेलायतबाट ल्याइएका तीनवटा दमकललाई मकवानपुरको भीमफेदीसम्म पुर्याएर त्यहाँका पाटपुर्जा छुट्याइएको थियो। त्यसपछि मानिसहरूले काँधमा बोकेर ती दमकल काठमाडौं ल्याएका थिए। प्रदर्शनीमा राखिएको ऐतिहासिक दमकलको अगाडिको भागमा ‘मेरी वेदर, मोरिस कमर्सियल लन्डन’ लेखिएको छ। वसन्तपुरस्थित जुद्ध वारुण यन्त्र परिसरमा बेलायतबाट ल्याइएका दमकलका अतिरिक्त जर्मन प्रविधिका साना तथा ठूला पुराना दमकल पनि संरक्षण गरेर राखिएका छन्।
त्यहाँ रहेको ३५० लिटर क्षमताको सानो दमकल हाल सञ्चालन गर्न नसकिने अवस्थामा छ। ठूलो दमकलको इन्जिन परिवर्तन गरेर पुनः सञ्चालन गर्न सकिने सम्भावना भए पनि आवश्यक आर्थिक स्रोतको अभावमा काम अघि बढ्न सकेको छैन। यसैगरी, भक्तपुर र ललितपुरमा रहेका पुराना दमकललाई समेत संरक्षण गरी ऐतिहासिक सङ्ग्रहालयका रूपमा विकास गर्ने योजना बनाइएको छ।
भक्तपुरको दुधपाटीस्थित जुद्ध वारुण यन्त्र परिसरमा तीनवटा पुराना दमकल टहराभित्र राखिएका छन्। तीमध्ये ठूलो दमकलमा टिपरको इन्जिन जडान गरेर पुनः सञ्चालन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाइएको छ। ऐतिहासिक महत्व बोकेका यस्ता दमकलको संरक्षण र प्रदर्शनीले नेपालको अग्नि नियन्त्रण सेवाको विगत, प्रविधिको विकासक्रम र इतिहासबारे नयाँ पुस्तालाई जानकारी लिन महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।








