२०८३ कात्तिक १३ , शुक्रबार

शनिबारदेखि चक्रवात ‘अर्णव’ को प्रभाव क्रमशः घट्ने



काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ का कारण नेपालमा भइरहेको वर्षाको गतिविधि शनिबार अपराह्नपछि क्रमशः कमजोर हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा हल्का वर्षा भइरहेको छ। मौसमविद् डेभिड ढकालले शनिबार अपराह्नदेखि चक्रवातको प्रभाव कम हुँदै जाने जानकारी दिनुभयो। यद्यपि मौसममा हुने परिवर्तनबारे अद्यावधिक सूचना लिन उहाँले सर्वसाधारणलाई आग्रह गर्नुभएको छ।

भारतमा शक्तिशाली चक्रवातका रूपमा विकसित भएको ‘अर्णव’ नेपालतर्फ आइपुग्दा कमजोर न्यूनचापीय प्रणालीमा परिणत भएकाले यहाँ यसको प्रभाव तुलनात्मक रूपमा सामान्य रहेको महाशाखाले जनाएको छ। यसका कारण नेपालमा वर्षा, हिमपात र हावाहुरीको असर ठूलो रूपमा नदेखिएको विभागको भनाइ छ। मौसमविद् ढकालका अनुसार शुक्रबार दिउँसो तथा राति देशका अधिकांश भूभागमा मौसम बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि बदली रहने पूर्वानुमान गरिएको छ।

ती प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।त्यस्तै, शुक्रबार राति पनि देशका अधिकांश स्थानमा बदली रहने र विभिन्न क्षेत्रमा वर्षा तथा हिमपात हुने अनुमान गरिएको छ। केही स्थानमा भने भारी वर्षा र हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ। यसैबीच, पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा काभ्रेपलाञ्चोकको रोशीस्थित मौसम मापन केन्द्रमा रेकर्ड गरिएको छ। उक्त केन्द्रमा ५०.२ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जानकारी दिएको छ।

उक्त अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि हल्का वर्षा भएको विभागले जनाएको छ। मौसममा क्रमिक सुधार हुने अनुमान गरिए पनि वर्षा र हिमपातको सम्भावना कायम रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३ कात्तिक १३ गते शुक्रबार