काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा भूमिगत विद्युत् लाइन विस्तारको काम अघि बढाउने भएपछि आठ दिनसम्म दैनिक केही घण्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा काम गर्न लागेको हो । यस क्रममा १३ देखि २० कात्तिकसम्म सम्बन्धित क्षेत्रमा बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको तालिकाअनुसार १३ कात्तिकमा बलम्बु, थानकोट र मातातीर्थ फिडरअन्तर्गत हाइभिजन कोलोनी क्षेत्रमा विद्युत् कटौती हुनेछ । १४ कात्तिकमा सीतापाइला फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म तथा १५ कात्तिकमा कलंकी, थानकोट र रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् सेवा बन्द गरिनेछ ।
त्यसैगरी, १६ कात्तिकमा बाफल फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म विद्युत् आपूर्ति रोकिनेछ । १७ कात्तिकमा शंखमुल फिडरअन्तर्गत युएनपार्कदेखि बिजुलीबजारसम्म विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ । १८ र २० कात्तिकमा सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ भने १९ कात्तिकमा स्युचाटार एसएस फिडरअन्तर्गत हाजमा पुल क्षेत्रमा आपूर्ति बन्द गरिनेछ ।
प्राधिकरणका अनुसार मौसम प्रतिकूल भएमा निर्धारित कार्यतालिका परिवर्तन वा रद्द हुन सक्नेछ । भूमिगत लाइन विस्तारका क्रममा विद्युत् आपूर्ति रोक्नुपर्ने भएकाले प्रभावित क्षेत्रका उपभोक्तालाई पूर्वतयारी गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।








