सुर्खेत । पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ । निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगितालाई सफल बनाउन संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले तयारी तीव्र बनाएका छन् । प्रतियोगिताको मुख्य आयोजनास्थल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा सम्पन्न भएपछि दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी कर्णाली प्रदेशले पाएको थियो। सोही जिम्मेवारीअनुसार प्रदेश सरकारले वीरेन्द्रनगरमा १० हजार दर्शक क्षमताको सुविधासम्पन्न रङ्गशाला निर्माण गरेको हाे ।

प्रदेश गौरवको आयोजनाका रूपमा अघि बढाइएको उक्त रङ्गशालाको निर्माण कार्य सम्पन्न भइसकेको छ । प्रतियोगिताको उद्घाटन तथा समापन समारोह यही रङ्गशालामा आयोजना हुने तयारी छ । आधुनिक पूर्वाधारसहित निर्माण गरिएको रङ्गशालाले राष्ट्रियस्तरका विभिन्न खेल प्रतियोगिता सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा कुल ३२ खेल विधामा प्रतिस्पर्धा हुनेछ । लामो समयदेखि प्रतीक्षामा रहेको प्रतियोगिताको मिति नजिकिँदै जाँदा कर्णालीमा खेलकुद गतिविधि र तयारीसम्बन्धी चासोसमेत बढ्दै गएको छ ।
प्रचार–प्रसार र तयारीमा परिषद्को सक्रियता
प्रतियोगिताको तयारीलाई प्रभावकारी र व्यवस्थित बनाउनेसँगै प्रचार–प्रसारलाई तीव्रता दिन कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले विभिन्न गतिविधि अघि बढाएको छ । प्रतियोगिताप्रति आम नागरिकमा अपनत्व र उत्साह अभिवृद्धि गर्ने उद्देश्यले परिषद्ले आफ्ना पदाधिकारी, प्रशिक्षक, खेलाडी तथा खेलकुद क्षेत्रका सरोकारवालाहरूलाई प्रतियोगितासँग सम्बन्धित स्मरणिका सामग्री वितरण गरेको छ ।
शनिबार सामग्री वितरणसँगै आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रतियोगिताको तयारी, प्रचार–प्रसार, व्यवस्थापन र सफल आयोजनाका विभिन्न पक्षमा छलफल गरिएको थियो । प्रतियोगितालाई कर्णाली प्रदेशको साझा गौरवका रूपमा स्थापित गर्न खेलकुद क्षेत्रका सबै पक्षको सहभागिता आवश्यक रहेको विषयमा समेत जोड दिइएको थियो ।

त्यस्तै प्रतियोगिताको तयारीलाई थप प्रभावकारी बनाउन कर्णाली प्रदेश खेलकुद संघका पदाधिकारी तथा प्रशिक्षकहरूसँग छुट्टै छलफल बैठकसमेत सम्पन्न भएको छ । परिषद्का उपाध्यक्ष प्रमोद हमालको अध्यक्षतामा शनिबार बसेको बैठकमा प्रतियोगिताको तयारी, व्यवस्थापन, बन्द प्रशिक्षण, खेलाडीहरूको सहभागिता तथा खेलकुद क्षेत्रका समसामयिक विषयमा छलफल गरिएको थियो ।
बैठकमा सहभागी पदाधिकारी तथा प्रशिक्षकहरूले प्रतियोगिताको तयारीका विभिन्न पक्षमा सुझाव प्रस्तुत गर्नुका साथै खेलाडीको सहभागिता र बन्द प्रशिक्षणलाई व्यवस्थित बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए । प्रतियोगिता निर्धारित मितिमा सञ्चालन गर्न सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने विषय पनि छलफलमा उठेको थियो ।
कार्यक्रममा परिषद्का सदस्य–सचिव रवीन्द्र चन्दले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशका लागि गौरव, प्रतिष्ठा र अवसरको विषय भएको बताए । प्रतियोगिताको सफल आयोजनाका लागि सम्पूर्ण कर्णालीवासीको साथ, सहयोग र सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो ।
प्रतियोगितालाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक योगदान गर्न आग्रह गर्दै उनले दशौँ राष्ट्रिय खेलकुदलाई आफ्नो गौरव र अपनत्वको विषयका रूपमा ग्रहण गर्न कर्णालीवासीमा अपिल गरे । प्रतियोगिताको स्वागत तथा सफल आयोजनाका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा उनले जोड दिए ।
परिषद्ले प्रतियोगिताको तयारी, व्यवस्थापन र प्रचार–प्रसारलाई थप प्रभावकारी बनाउँदै खेलाडी, प्रशिक्षक, खेलकुद संघ तथा आम कर्णालीवासीको सहभागिता अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ । राष्ट्रिय खेलकुदको आयोजना कर्णालीका लागि खेल प्रतियोगिता सञ्चालनमा मात्र सीमित नभई प्रदेशको खेलकुद क्षमता, पूर्वाधार र पहिचान प्रस्तुत गर्ने अवसरका रूपमा पनि हेरिएको छ ।








