सुर्खेत । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दीको विवरण प्रहरीले सार्वजनिक गरेको छ।
शनिबार बिहान कारागारभित्र सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएका थिए। घटनापछि जिल्ला प्रहरी कार्यालय डोल्पाले उनीहरूको खोजी तीव्र बनाएको जनाएको छ। फरार कैदीबन्दीको खोजी तथा पक्राउका लागि जिल्लाभित्रका सम्पूर्ण प्रहरी युनिट परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरीले फरार भएका कैदीबन्दीको तस्बिरसहित व्यक्तिगत विवरणसमेत सार्वजनिक गरेको छ। उनीहरूको खोजी कार्यलाई प्रभावकारी बनाउन आवश्यक सुरक्षा निकाय परिचालन गरिएको जनाइएको छ। कारागारको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै सुरुङ खनेर कैदीबन्दी फरार भएपछि घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति : २०८३ कात्तिक १५ गते आइतबार








