काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने १५१ सवारीसाधनमाथि कारबाही गरिएको छ।
उपत्यका ट्राफिक प्रहरीका अनुसार आइतबार बिहान ६ बजेसम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ८४ जना कारबाहीमा परेका छन्। त्यस्तै, सीसीटीभी निगरानीबाट पहिचान भएका पाँच, ट्राफिक बत्ती (रेड लाइट) उल्लङ्घन गर्ने तीन तथा लेन अनुशासन पालना नगर्ने एक सवारीचालकमाथि कारबाही गरिएको छ।
यसैगरी, सवारीसाधनको अवस्था ठीक नभएका दुई र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ५६ सवारीसाधनमाथि पनि कारबाही गरिएको प्रहरीले जनाएको छ। प्रहरीले ट्राफिक नियमको पालना गरी सुरक्षित रूपमा सवारी सञ्चालन गर्न चालकहरूलाई आग्रह गरेको छ।
प्रकाशित मिति : २०८३ कात्तिक १५ गते आइतबार








