काठमाडौं। सरकारले आजदेखि दुई दिनसम्म देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रमअन्तर्गत छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ। स्वास्थ्य सेवा विभागका अनुसार यस अभियानमार्फत करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ।
कार्यक्रम सफल बनाउन देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको विभागले जनाएको छ।बालबालिकामा कुपोषण तथा विभिन्न स्वास्थ्य जटिलताको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले हरेक वर्ष कात्तिक र वैशाख महिनामा यस्तो अभियान सञ्चालन गर्दै आएको छ।
सरकारले अभिभावकलाई आफ्ना उमेर समूहअनुसारका बालबालिकालाई नजिकैको स्वास्थ्य केन्द्र तथा तोकिएका वितरण केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गरेको छ।








