२०८३ कात्तिक १७ , मंगलबार

रसुवा बाढीमा बेपत्ता भएकाको बीमा दाबी गर्न मृत्यु दर्ता अनिवार्य नहुने



काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवा बाढीबाट प्रभावित बीमितको बीमा दाबी भुक्तानी प्रक्रिया सहज बनाउन जीवन तथा लघु जीवन बीमा कम्पनीहरूलाई आठबुँदे निर्देशन जारी गरेको छ।

गत भदौ १० गते भोटेकोशी, त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट प्रभावित बीमितको हितलाई ध्यानमा राख्दै प्राधिकरणले मृत्यु दाबी, बीमालेख समर्पण, बीमालेख कर्जा तथा परिपक्व भुक्तानी प्रक्रियामा सहजीकरण गर्ने व्यवस्था गरेको हो। निर्देशनअनुसार बाढीमा मृत्यु भएका वा बेपत्ता भएका बीमितको हकमा मृत्यु दर्ता प्रमाणपत्र अनिवार्य गरिएको छैन। मृत्यु वा बेपत्ता भएको पुष्टि गर्न सम्बन्धित स्थानीय तहको सिफारिस वा अदालतको न्यायिक घोषणालाई मान्यता दिनुपर्नेछ।

बीमा दाबीका लागि बीमितको नाम, मृत्यु भएको मिति र कारण, बीमालेख नम्बर तथा दाबी गर्ने व्यक्तिसँगको नाता खुलाएर सामान्य निवेदन दिए पुग्ने व्यवस्था गरिएको छ। दाबीकर्ताको पहिचान र नाता प्रमाणित गर्न नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, राहदानी वा जग्गाधनी प्रमाणपुर्जा पेस गर्न सकिनेछ। बाढीमा बीमालेखको सक्कल कागजात नष्ट भएको अवस्थामा कम्पनीको अभिलेखमा रहेको विवरणका आधारमा दाबी भुक्तानी गर्नुपर्नेछ। बीमितले माग गरेमा कम्पनीले बीमालेखको प्रतिलिपिसमेत निःशुल्क उपलब्ध गराउनुपर्नेछ।

बीमा कम्पनीका कागजातसमेत नष्ट भएको अवस्थामा बीमित र अभिकर्ताले आवश्यक विवरण उपलब्ध गराएर अभिलेख अद्यावधिक गर्न सहयोग गर्नुपर्ने निर्देशनमा उल्लेख छ। त्यस्तै, बाढी प्रभावितले बीमाशुल्क वा कर्जाको किस्ता तिर्न नसकेको अवस्थामा ६ महिनासम्म ब्याज तथा जरिवाना नलिई म्याद थप गर्नुपर्ने व्यवस्था गरिएको छ।

बेपत्ता बीमितको हकमा भने हकवालाले पछि सम्बन्धित व्यक्ति जीवित भेटिएमा कानुनबमोजिम सजाय भोग्न तयार रहेको स्वघोषणा गरेपछि मृत्यु दाबी भुक्तानी दिनुपर्ने प्राधिकरणको निर्देशन छ। प्राधिकरणले यी व्यवस्था कार्यान्वयन गरी बाढी प्रभावित बीमित तथा उनीहरूका परिवारलाई बीमा दाबी भुक्तानी प्रक्रियामा अनावश्यक झन्झट नहोस् भन्ने उद्देश्य राखेको जनाएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १७ गते मंगलबार