सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ। आगामी मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सुरु हुन ३० दिन मात्रै बाँकी रहँदा सोमबारदेखि औपचारिक रूपमा काउन्टडाउन सुरु गरिएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीको उपस्थितिमा सुर्खेतमा आयोजित विशेष कार्यक्रममा प्रतियोगिताको ३० दिने काउन्टडाउन शुभारम्भ गरिएको हो। प्रतियोगिताका लागि देशभरका विभिन्न जिल्ला तथा प्रदेशमा खेलाडी छनोट प्रक्रिया अघि बढाइएको छ। खेलकुदलाई सुरक्षित र व्यवस्थित बनाउन एक हजार १२६ जना सुरक्षाकर्मी परिचालन गर्ने योजना स्वीकृत भएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले जानकारी दिनुभयो।
दशौँ राष्ट्रिय खेलकुदको मस्कटमा लोपोन्मुख वन्यजन्तु रेडपान्डा (हाब्रे) राखिएको छ। त्यस्तै, लोगोमा नेपालको राष्ट्रिय झण्डा, चन्द्र र सूर्य तथा सात रङ समावेश गरिएको छ। प्रतियोगितामा ३२ भन्दा बढी खेल विधा समावेश गरिने आयोजकले जनाएको छ। प्रतियोगितालाई लक्षित गर्दै २० असोजदेखि आयोजक मूल समितिको सचिवालय सञ्चालनमा ल्याइएको छ। सचिवालयमार्फत खेलस्थल, खेलाडी तथा पदाधिकारीको आवास, यातायात, सुरक्षा र स्वास्थ्य व्यवस्थापनका कामलाई समन्वय गरिनेछ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दशौँ राष्ट्रिय खेलकुदलाई प्रदेशले खेल उत्सवका रूपमा लिएको बताउनुभएको छ। उहाँले प्रतियोगिता खेलाडीबीचको प्रतिस्पर्धामा मात्र सीमित नभई कर्णालीको खेलकुद विकास र विस्तारका लागि महत्वपूर्ण अवसर भएको उल्लेख गर्नुभयो। प्रतियोगिता सफल बनाउन प्रदेश सरकार, स्थानीय तह, खेलकुदसँग सम्बन्धित निकाय र सरोकारवाला पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ छ।
प्रतियोगिताका लागि दैलेख र रुकुमपश्चिमका कभर्डहल मर्मत गरिएको छ भने जुम्ला, हुम्ला, जाजरकोट र कालीकोटमा खेल पूर्वाधार निर्माण तथा सुधारका काम अघि बढाइएको छ। दशौँ राष्ट्रिय खेलकुदको मुख्य आकर्षण वीरेन्द्रनगरस्थित प्रदेश गौरवको रङ्गशाला बनेको छ। प्रतियोगितालाई लक्षित गरी निर्माण गरिएको रङ्गशालामा भिआइपी प्याराफिट, १२ वटा साना तथा ठूला प्रवेशद्वार र खेलाडी तथा पदाधिकारीका लागि आवश्यक कक्ष निर्माण गरिएका छन्।
रङ्गशालामा दुई सयभन्दा बढी चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधन अट्ने भूमिगत पार्किङको व्यवस्था गरिएको छ। मुख्य रङ्गशालाबाहिर भलिबल, बास्केटबल र पौडी खेलका लागि संरचना तयार पारिएको छ। त्यस्तै, दुईवटा ठूला कभर्डहल निर्माण गरिएका छन्, जहाँ एकैपटक १२ वटा खेल सञ्चालन गर्न सकिने जनाइएको छ।
रङ्गशालाको निर्माणमा कर्णालीको मौलिक पहिचान झल्काउने पञ्चदेवलको आकृति र स्थानीय ढुङ्गाको प्रयोग गरिएको छ। करिब नौ बिघा क्षेत्रफलमा फैलिएको रङ्गशालालाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले देशकै नमुनायोग्य खेल पूर्वाधारका रूपमा दाबी गरेको छ।कर्णालीले पहिलोपटक आयोजना गर्ने यस राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन पूर्वाधार निर्माणसँगै खेलाडी छनोट, सुरक्षा, आवास, यातायात र अन्य व्यवस्थापकीय तयारीलाई तीव्रता दिइएको छ।








