पोखरा। सामाजिक सञ्जालमा गृहमन्त्री सुधन गुरुङको कार्यक्रमबारे भ्रामक भिडियो तथा सूचना पोस्ट गरेको आरोपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कास्कीका नेता गोविन्द अधिकारी पक्राउ परेका छन्।
कास्की प्रहरीले अधिकारीलाई कास्कीबाट पक्राउ गरी थप अनुसन्धानका लागि गोरखा पठाएको जनाएको छ। गोरखामा आयोजित एक कार्यक्रमलाई लक्षित गरी भ्रामक सामग्री बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय गोरखामा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
कास्की प्रहरीका प्रहरी निरीक्षक दीपक रिजालका अनुसार गोरखामा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको अवस्थामा अधिकारीको लोकेसन कास्कीमा देखिएपछि पक्राउ गरी गोरखा पठाइएको हो। प्रहरीले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई भ्रमित पार्ने गरी गलत सूचना तथा भिडियो फैलाएको आरोपमा उनीमाथि अनुसन्धान अघि बढाएको जनाएको छ।
यता, अधिकारी पक्राउ परेपछि वाईसीएल नेपाल कास्की जिल्ला समन्वय समितिले उनको निशर्त रिहाइको माग गरेको छ। समितिले लोकतान्त्रिक व्यवस्थामा सरकारका निर्णय र गतिविधिको आलोचना गर्नु नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै अभिव्यक्ति स्वतन्त्रतामा अंकुश नलगाउन सरकारलाई आग्रह गरेको छ।
वाईसीएल नेपाल कास्कीले गोविन्द अधिकारीलाई तत्काल रिहा गर्नुपर्ने, राजनीतिक आस्था र विचारका आधारमा हुने धरपकड तथा राजनीतिक प्रतिशोध बन्द गर्नुपर्ने लगायत पाँचबुँदे माग अघि सारेको छ। यसैबीच, नेकपाले अधिकारीलाई गृहमन्त्रीकै निर्देशनमा पक्राउ गरिएको आरोप लगाएको छ। प्रहरीले भने कानुनी प्रक्रिया र अनुसन्धानका आधारमा पक्राउ गरिएको स्पष्ट पारेको छ।








