२०८३ कात्तिक १७ , मंगलबार

तिहारमा प्लास्टिकका फूलमाला बिक्री गरे जफत गरिने, काठमाडौं महानगरले तोक्यो बिक्रीस्थल



काठमाडौं। तिहार पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्रीको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ।

महानगरपालिकाले स्वदेशी किसानले उत्पादन गरेका फूल तथा मालाको प्रयोगलाई प्राथमिकता दिन व्यवसायी, व्यापारी र सर्वसाधारणलाई आग्रह गरेको छ। महानगर प्रहरी बलले सूचना जारी गर्दै प्रतिबन्धको अवज्ञा गरी प्लास्टिकजन्य तथा गुणस्तरहीन फूल, माला र सजावटका सामग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने चेतावनी दिएको छ।

नेपाली किसानले उत्पादन गरेका फूलले बजार पाउन र उपभोक्तालाई खरिद गर्न सहज होस् भन्ने उद्देश्यले महानगरले विभिन्न स्थानमा फूल बिक्रीका लागि निश्चित क्षेत्रसमेत तोकेको छ। महानगरले नयाँ बानेश्वरको एनबी सेन्टर र आईप्लेक्स मल, शंखमुलको बिग मार्ट, मध्य बानेश्वरको सेल्सबेरी, बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र सिफल चौरलाई फूल बिक्रीस्थल तोकेको छ।

त्यसैगरी चाबहिलको एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार, केएल टावर अगाडि, कमलादीको आईटी बिल्डिङ, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी र सुन्धाराको काठमाडौं मलमा पनि फूल बिक्री गर्न सकिनेछ। महानगरले न्युप्लाजाको बज्र कम्प्लेक्स, स्वयम्भूको धर्मचक्र पार्क, कलंकीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर, माछापोखरीको बुद्ध मल तथा अन्य तोकिएका स्थानमा समेत बिक्री व्यवस्था मिलाएको जनाएको छ।

यसका अतिरिक्त कालिमाटी ब्याङ्क्वेट, हाँडीगाउँ, सामाखुसी, महाराजगञ्ज, गोंगबु, चप्पलकारखाना, बालुवाटार, टेबहाल मन्दिर परिसर, लगन, जैसिदेवल र भृकुटीमण्डपलाई पनि फूल बिक्रीस्थलका रूपमा तोकिएको छ। महानगरपालिकाले तिहारमा स्वदेशी फूलको प्रयोग बढाउन र नेपाली किसानको उत्पादनलाई प्रोत्साहन गर्न सबैलाई आग्रह गरेको छ। बिक्री व्यवस्थापन तथा थप जानकारीका लागि व्यवसायी र सर्वसाधारणले महानगर प्रहरी बलको कार्यालयमा सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख छ।

प्रकाशित मिति : २०८३ कात्तिक १७ गते मंगलबार