राष्ट्रिय सुरक्षा परिषद् सचिवालयले राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई गहन रूपमा मनन गरी कामकारबाही गर्दै आएको जनाएको छ।
राष्ट्रिय सुरक्षाका सम्बन्धमा कार्यगत एकरूपताको अवधारणा विकास गर्न र सुरक्षानीति कार्यान्वयनलाई थप प्रभावकारी बनाउन समयसमयमा सम्बन्धित सुरक्षा निकाय र प्रशासनिक संयन्त्रसँग गोष्ठी, छलफल, अन्तरक्रिया, भेटघाट र स्थलगत भ्रमण गरिँदै आएको उसले जनाएको छ।
राष्ट्रिय सुरक्षा परिषद् सचिवालयले यो विगतदेखि निरन्तर गर्दै आएको कार्यक्रमसमेत भएको जनाएको छ।
नागरिकले बुधबार प्रकाशित गरेको सुरक्षा परिषद्सम्बन्धी समाचारमा प्रतिक्रिया जनाउँदै सचिवालयले यस्ता क्रियाकलापबाट ‘असुरक्षा बढाउने खतरा’ नभई सुरक्षामा थप प्रभावकारिता आउने हुँदा समाचारले ‘यससम्बन्धी वास्तविक मर्मलाई प्रतिबिम्बित’ नगरेको जनाएको छ।
सुरक्षा परिषद् सचिवालबाट समन्वयात्मक भ्रमण गर्ने प्रचलनअनुरूप यस वर्ष प्रदेशहरूमा टोली पठाउने कार्यलाई निरन्तरता दिन खोजिएको स्पष्ट पारिएको छ। ‘यसो गर्दा अन्य सुरक्षा निकायहरूले गरिरहेका कामकारबाहीमा असर नपर्ने गरी समन्वय मात्र गर्ने उद्देश्य रहेको छ,’ सचिवालयको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय सुरक्षा सल्लाहकारले नियुक्ति हुँदा तोकिएको जिम्मेवारी र कार्यादेश (टिओआर) अनुरूप काम गर्दै आउनुभएको छ।’








