काठमाडौं। सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडकखण्डमा ना.१ घ.५५३ नम्बरको ट्रक र स.९ प.७६५० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिहीबार बिहान चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ट्रक र सिरहाबाट चौहर्वातर्फ आउँदै गरेको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतक दुवै पुरुषको सनाखत हुन सकेको छैन। प्रहरीले उनीहरूको पहिचान खुलाउने तथा आफन्तको खोजी गर्ने काम भइरहेको जनाएको छ।दुर्घटनापछि ट्रक चालक फरार भएकाले उनको खोजी भइरहेको छ। दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।








