२०८३ कात्तिक २९ , आइतबार
फ्रन्ट पेज

चौकुनेमा दुई सिमेन्ट उद्योग: सुर्यताराको निर्माणले गति लिँदा मुक्तिश्रीको काम ठप्प



सुर्खेत । पश्चिम सुर्खेतको चौकुनेमा सिमेन्ट उद्योग स्थापना गर्ने दुई आयोजना अहिले विपरीत अवस्थामा छन् । करिब १५ अर्ब रुपैयाँ लगानीको सूर्यतारा सिमेन्ट उद्योगको निर्माण अघि बढिरहेको छ भने १६–१७ वर्षअघि अनुमति पाएको मुक्तिश्री सिमेन्ट उद्योगले अहिलेसम्म निर्माण सुरु गर्न सकेको छैन । लामो समयसम्म काम नगरेको मुक्तिश्रीको अनुमति खारेज गरी नयाँ प्रक्रियाबाट उद्योग सञ्चालनको बाटो खोल्न गाउँपालिकाले उद्योग मन्त्रालयसँग माग गरिरहेको छ ।

चौकुने गाउँपालिका–९ सुनाकाँडामा स्थापना भइरहेको सूर्यतारा सिमेन्ट उद्योगको भौतिक संरचना निर्माणले गति लिएको गाउँपालिका अध्यक्ष खड्क विकले बताए । उनका अनुसार उद्योगका संरचना निर्माणको काम अघि बढिरहेको छ । यही गतिमा काम भए अबको १२–१३ महिनाभित्र सिमेन्ट उत्पादन सुरु हुन सक्ने उनको अनुमान छ । ‘सूर्यतारा सिमेन्टको काम एकदम तीव्र गतिमा अगाडि बढेको छ । संरचनाका कामहरू धेरै अगाडि बढिसकेका छन्,’ अध्यक्ष विकले भने, ‘मलाई लाग्छ, अबको १२–१३ महिनामा सिमेन्टका बोरा खस्ने बनाउनुहुन्छ ।’
सूर्यतारा उद्योगले निर्माणलाई अघि बढाइरहँदा चौकुने गाउँपालिका–६ स्थित अर्को चुनढुङ्गा खानीमा आधारित मुक्तिश्री सिमेन्ट उद्योग भने वर्षौँदेखि अलपत्र छ । कम्पनीले उद्योग स्थापनाका लागि अनुमति पाए पनि खानी सञ्चालन र कारखाना निर्माणको काम अघि नबढाएको अध्यक्ष विकको भनाइ छ । गाउँपालिकाले कम्पनीलाई तीन वर्षदेखि प्रशासनिक सेवा रोक्दै आएको छ भने अनुमति खारेज गरेर नयाँ ठेक्का प्रक्रियामा लैजान मन्त्रालयमा पहल गरिरहेको छ ।
सूर्यतारा सिमेन्ट उद्योग चौकुने गाउँपालिका–९ सुनाकाँडामा स्थापना भइरहेको छ । यस उद्योगका लागि आवश्यक चुनढुङ्गा भने बराहताल गाउँपालिका–७ स्थित लखरपाटाबाट उत्खनन गरिनेछ । खानीबाट निकालिएको चुनढुङ्गा करिब २४ किलोमिटर दूरीमा रहेको सुनाकाँडास्थित उद्योगमा ल्याएर प्रशोधन गरी सिमेन्ट उत्पादन गर्ने योजना छ ।
कम्पनीले उद्योग स्थापनाका लागि सुनाकाँडामा ४२ बिघा जग्गा खरिद गरेको छ । करिब १५ अर्ब रुपैयाँ लगानीमा स्थापना हुन लागेको उद्योगमा लगानी बोर्डले १४ अर्ब २७ करोड ५० लाख रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। उद्योगका लागि बराहताल–७ लखरपाटामा ९५ हजार हेक्टर क्षेत्रफलबाट चुनढुङ्गा उत्खनन गर्ने योजना छ ।
उद्योगको भौतिक संरचना निर्माणका लागि करिब पाँच सय रोपनी निजी जग्गामा काम भइरहेको छ । उद्योगस्थलमा करिब २५० मजदुर खटिएका छन् । क्रसर प्लान्ट, माटो परीक्षण, कामदार आवास तथा अन्य संरचना निर्माणको काम अघि बढाइएको हो ।
उद्योग पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक ५० हजार बोरा सिमेन्ट उत्पादन गर्ने र करिब एक हजार जनालाई प्रत्यक्ष रोजगारी दिने कम्पनीको अनुमान छ ।
यस आयोजनाका लागि खानी क्षेत्र लखरपाटा र उद्योगस्थल सुनाकाँडा जोड्ने पहुँचमार्ग महत्वपूर्ण छ । प्रदेश सरकारले खानी र उद्योग जोड्न करिब १० किलोमिटर सडक निर्माण अघि बढाएको छ । उक्त सडकका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा पाँच करोड रुपैयाँ बजेट व्यवस्थापन गरिएको र सडकको ट्र्याक खोल्ने काम पूरा भएको छ ।
सडकलाई साउनसम्म कालोपत्रे गर्ने लक्ष्य राखिए पनि इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धिका कारण समय लाग्न सक्ने बताईएको छ । सडकसँगै विद्युत् र खानेपानीको व्यवस्था पनि उद्योग सञ्चालनका लागि चुनौतीका रुपमा देखिएको छ । गुटुबजारबाट उद्योगस्थल जाने सडकको गुटुखोलामा पुल नहुँदा सामग्री ढुवानीमा समस्या हुने गरेको छ। कैलालीको चिसापानीतर्फ जोडिने सडकको अवस्था पनि कमजोर हुँदा काम गर्न समस्या भईरहेको छ । खानीबाट चुनढुङ्गा ल्याउन र उद्योग निर्माणका सामग्री पुर्‍याउन सडक तथा पुलको सुधारका लागि पनि पहल गरिएको कम्पनीले जनाएको छ ।
१७ वर्षदेखि अनुमति, निर्माणको काम शून्य
चौकुने गाउँपालिका–६ स्थित चौकुने डाँडामा रहेको चुनढुङ्गा खानीमा आधारित सिमेन्ट उद्योग स्थापना गर्ने योजना मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिको हो । कम्पनीले २०६६ साल साउन २० गते खानी तथा भूगर्भ विभागबाट चुनढुङ्गा उत्खननको अनुमति लिएको भए पनि १६–१७ वर्ष बितिसक्दा उद्योग निर्माणको काम अघि बढ्न नसकेको अध्यक्ष विकले बताए ।
चौकुने डाँडाको करिब ११ हजार रोपनी क्षेत्रमा फैलिएको चुनढुङ्गा खानीबाट अहिलेसम्म उत्खनन सुरु भएको छैन । खानी तथा भूगर्भ विभागले २०३५ देखि २०३९ सालसम्म गरेको अध्ययनमा यहाँको चुनढुङ्गा सिमेन्ट उत्पादनका लागि उपयुक्त रहेको प्रमाणित भएको थियो । त्यसपछि खानी उत्खनन र उद्योग स्थापना गर्ने उद्देश्यले मुक्तिश्रीले अनुमति लिएको थियो ।
कम्पनीले खानी सञ्चालन र कारखाना स्थापनाका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न सकेको छैन । कम्पनीले खानी क्षेत्रमा ९० रोपनी जग्गा मात्रै खरिद गरेको थियो । खानी सञ्चालनका लागि थप तीन सय रोपनी र सिमेन्ट कारखाना स्थापना तथा सञ्चालनका लागि करिब पाँच सय रोपनी जग्गा आवश्यक पर्ने कम्पनीको भनाइ थियो ।
लामो समयसम्म उद्योग निर्माणको काम अघि नबढेपछि गाउँपालिकाले कम्पनीमाथि दबाब बढाएको छ । अध्यक्ष विकका अनुसार गाउँपालिकाले कार्यपालिकाबाटै निर्णय गरेर तीन वर्षदेखि कम्पनीलाई उपलब्ध गराउँदै आएको प्रशासनिक सेवा रोकेको छ । उद्योग स्थापना गर्ने अनुमति लिएर काम नगरी जग्गा खरिदको प्रक्रिया मात्रै अघि बढाएको भन्दै यस्तो निर्णय गरिएको उनले बताए ।
‘पुरानो चौकुने सिमेन्ट खानीको काम अहिलेसम्म शून्य छ । १६–१७ वर्ष भइसक्यो, तर उद्योग निर्माणको कुनै काम अघि बढेको छैन,’ अध्यक्ष विकले भने, ‘वर्षमा एक–दुई रोपनी जग्गा किनेर उद्योगको काम भइरहेको छ भनेर नागरिकलाई देखाउने काम मात्रै भएको छ ।’ गाउँपालिकाले कम्पनीलाई उद्योग सञ्चालन नगरेसम्म प्रशासनिक सेवा उपलब्ध नगराउने निर्णय गरेको छ । तर उद्योग स्थापना गर्ने प्रक्रिया अघि बढेमा आवश्यक सहजीकरण गर्ने निर्णय पनि गाउँपालिकाले गरेको अध्यक्ष विकले बताए । उनका अनुसार उद्योग सञ्चालनका लागि आवश्यक पर्ने कच्चा पदार्थ ढुवानीको सडक, विद्युत् र पानीको व्यवस्थापनमा गाउँपालिकाले आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
‘हामीले तीन वर्ष भयो, गाउँपालिकाबाट दिने सम्पूर्ण प्रशासनिक काम रोकेका छौँ । उद्योग सुरु नगर्ने अवस्थामा कुनै पनि सेवा नदिने भनेर कार्यपालिकाबाटै निर्णय गरेका हौँ,’ अध्यक्ष विकले भने, ‘उद्योग सुरु गर्ने अवस्थामा कच्चा पदार्थ ढुवानीका लागि सडक, बिजुली र पानी गाउँपालिकाबाटै पुर्‍याइदिने निर्णय पनि गरेका छौँ ।’
अनुमति खारेज गरेर नयाँ प्रक्रियामा लैजान माग
मुक्तिश्रीले लामो समयसम्म उद्योग निर्माणको काम अघि नबढाएपछि गाउँपालिकाले अब पुरानो अनुमति खारेज गरेर नयाँ ठेक्का प्रक्रियाबाट उद्योग स्थापना गर्नुपर्ने माग अघि सारेको छ । यस विषयमा उद्योग मन्त्रालयसँग छलफल र पत्राचार भइरहेको अध्यक्ष विकले बताए । उनका अनुसार करिब एक महिनादेखि डेढ महिनाअघि उनी गाउँपालिकाको टोलीसहित काठमाडौं पुगेर उद्योग मन्त्रालयका सहसचिवसँग छलफल गरेका थिए । उक्त छलफलमा पुरानो उद्योगको काम अघि नबढेको विषय उठाउँदै अनुमति खारेज गरी नयाँ प्रक्रियामा लैजान माग गरिएको उनले जानकारी दिए ।
‘हामीले पुरानो चौकुने सिमेन्ट खानीको अनुमति खारेज गरेर नयाँ ठेक्का प्रक्रियामा लैजानुपर्छ भनेर मन्त्रालयमा माग गरिरहेका छौँ,’ अध्यक्ष विकले भने, ‘एक महिनादेखि डेढ महिनाअघि काठमाडौं गएर उद्योग मन्त्रालयका सहसचिवसहितको टिमसँग बसेर कुरा गरेका छौँ । अहिले त्यो फाइल मन्त्रालयमा छ ।’ गाउँपालिकाले कम्पनीलाई उद्योग स्थापना गर्न आवश्यक सहयोग गर्ने निर्णय गरे पनि लामो समयसम्म काम नगरी अनुमति मात्रै ओगटेर बस्ने अवस्थालाई निरन्तरता दिन नसकिने अध्यक्ष विकको भनाइ छ ।

प्रकाशित मिति : २०८३ कात्तिक २९ गते आइतबार