२०८३ साउन २ , शनिबार

मनितालाई ‘सरप्राइज’ ओलम्पिक छनोट



हरेक खेलाडीको सपना हुन्छ, ओलम्पिकमा सहभागी हुने। तर, त्यो सपना सबैको पूरा हुँदैन। यद्यपि, अपवादमा पर्छिन् जुडोकी मनिता श्रेष्ठ प्रधान।

आगामी साउन ११ देखि २७ गतेसम्म फ्रान्समा हुने पेरिस ओलम्पिकमा उनले नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्। नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठका अनुसार उनले वाइल्ड कार्डमार्फत ओलम्पिकमा स्थान पक्का गरेकी हुन्।

२५ वर्षीय मनिताले महिला ५७ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन्। ‘सुरुमा मलाई ओलम्पिक कमिटीबाट पेरिस ओलम्पिकका लागि छनोट भएको खबर आएको थियो। मलाई पत्याउनै गाह्रो भयो। त्यसपछि सूर्य गुरुको फोन आयो। अनि मात्र विश्वस्त भएँ,’ उनले भनिन्।

काठमाडौंको एकलटारस्थित रानीवनमा रहेको बन्दी सहायता नियोग (पाम) बाट उनले नौ वर्षकै उमेरमा जुडो खेल्न सुरु गरेकी थिइन्। त्यसको दुई वर्षपछि सन् २०११ मा काठमाडौंको धापासीमा त्रियोग स्कुलद्वारा आयोजित अन्तरस्कुल जुडो च्याम्पियनसिपमा डेब्यु गरेकी उनले स्वर्ण जितेकी थिइन्। त्यसपछि राष्ट्रिय प्रतियोगितामा आफ्नो तौलसमूहमा पछाडि फर्किएर हेर्नुपरेको छैन।

सन् २०१२ मा बंगलादेशको ढाकामा आयोजित दोस्रो साउथ एसियन क्याडेट जुडो च्याम्पियनसिपमा रजत पदक जित्दै अन्तर्राष्ट्रिय खेलमा पनि आफूलाई अब्बल साबित गरेकी उनी दक्षिण एसियाली खेलकुद (साग) को १२औं र १३औं संस्करणकी रजत विजेतासमेत हुन्।

मनिताले किर्गिस्तानमा भएको जुनियर एसियाली जुडोमा कांस्य, थाइल्यान्ड विश्वविद्यालय जुडोमा स्वर्ण, दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा रजतलगायत अन्तर्राष्ट्रिय पदक जितेकी छन्।

प्रकाशित मिति : २०८१ असार १४ गते बिहीबार