सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतबाट दुर्गम जिल्लाहरूमा नियमित हवाई सेवा सञ्चालन गर्ने तयारी थालेको छ।
हाल सुर्खेतबाट मुगु, हुम्ला, जुम्ला र डोल्पामा नियमित हवाई सेवा सञ्चालनमा छैन। ती जिल्लामा हवाई यात्राका लागि नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेको छ। प्रदेश सरकारले दुर्गम जिल्लामा हवाई सेवा नियमित गर्न तथा सेवा प्रदायक कम्पनीलाई सहुलियत उपलब्ध गराउन चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। यसअघि पनि बजेट छुट्याउने गरिए पनि कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन।
यसपटक भने कार्यक्रम कार्यान्वयनका लागि मुख्यमन्त्री मङ्गलबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले सेवा प्रदायक कम्पनी तथा संघीय सरकारसँग छलफल अघि बढाएका छन्। मुख्यमन्त्री शाहीका अनुसार दुर्गम जिल्लामा उडान सञ्चालन गर्न विभिन्न विकल्पबारे हवाई सेवा प्रदायक कम्पनी, नागरिक उड्डयन प्राधिकरण र निजी क्षेत्रसँग छलफल भइरहेको छ।
यात्रु संख्या विमानको सिट क्षमताभन्दा कम भएमा खाली सिटको शुल्क बराबर रकम उपलब्ध गराउने तथा इन्धनमा सहुलियत दिने विकल्पमा समेत छलफल भइरहेको उनले बताए।
हवाई सेवा सञ्चालनका लागि छुट्याइएको ६० लाख रुपैयाँ बजेटले खाली सिटको शुल्क मात्रै बेहोर्दा १५ दिन पनि नपुग्ने अवस्था रहेको मुख्यमन्त्री शाहीको भनाइ छ। त्यसैले दीर्घकालीन रूपमा सेवा सञ्चालन गर्न अन्य विकल्पको खोजी भइरहेको उनले जानकारी दिए।
यसअघि पनि सुर्खेतबाट हिमाली जिल्लामा नियमित उडान सञ्चालन गर्ने प्रयास भएका थिए। तर पर्याप्त यात्रु नपाउँदा र आर्थिक घाटा व्यहोर्नुपर्दा हवाई कम्पनीहरूले सेवा बन्द गरेका थिए। मुख्यमन्त्री शाहीले दुर्गम जिल्लामा हवाई सेवा सञ्चालनका लागि संघीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै आवश्यक पहल गरिदिन आग्रह गरिएको बताएका छन्।
यसैगरी, गत असोजमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग भेट गरी कर्णालीका दुर्गम जिल्लामा नियमित हवाई सेवा सञ्चालनका लागि पहल गर्न आग्रह गरेकी थिइन्।
यसैबीच, सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारको योजना पनि अघि बढ्न सकेको छैन। प्रदेश सरकारले धावनमार्ग विस्तारका लागि संघीय सरकारसँग साझेदारी गर्न पाँच करोड रुपैयाँ बजेट छुट्याएको छ। विगतमा पनि बजेट विनियोजन भए पनि योजना कार्यान्वयन हुन सकेको थिएन।








