२०८३ कात्तिक २९ , आइतबार

पहिरोमा घाइते डोल्पाका कार्यवाहक वडाध्यक्ष बूढाको उपचारका क्रममा मृत्यु



 डोल्पा । सडक निर्माणका क्रममा माथिबाट खसेको ढुङ्गासहितको सुक्खा पहिरोमा परी गम्भीर घाइते भएका डोल्पाको काइके गाउँपालिका–७ का कार्यवाहक वडाध्यक्ष भीमबहादुर बूढाको उपचारका क्रममा मृत्यु भएको छ।

गत बिहीबार दिउँसो करिब ४ बजे काइके गाउँपालिका–७ स्थित लावनमा सडक निर्माण भइरहेको स्थानमा माथिबाट एक्कासि ढुङ्गासहितको सुक्खा पहिरो खसेको थियो। पहिरोमा परी ३४ वर्षीय बूढा गम्भीर घाइते भएका थिए। घटनालगत्तै स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उनको उद्धार गरी जिल्ला अस्पताल डोल्पा पुर्‍याइएको थियो। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि शुक्रबार नेपालगञ्ज लगिएको थियो।

नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको अवस्थामा शनिबार उनको निधन भएको हो। बूढा २०७९ सालको स्थानीय तह निर्वाचनमा काइके गाउँपालिका–७ को वडा सदस्यमा निर्वाचित भएका थिए। वडाध्यक्ष विशेष कामले जिल्ला बाहिर रहेका कारण केही समयदेखि उनले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनको निधनले गाउँपालिकामा शोक छाएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक २९ गते आइतबार