काठमाडौं । सूर्यदेवको पूजा–आराधना र उपासनाको महापर्व छठ आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। पर्वको मुख्य दिन आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्नेछन्।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्व शुक्रबारदेखि सुरु भएको हो। यस पर्वमा सूर्यदेव र छठी माताको पूजा आराधना गरी परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायुको कामना गर्ने धार्मिक परम्परा छ। छठ पर्वको पौराणिक सम्बन्ध महाभारतसँग पनि जोडिएको छ।
धार्मिक मान्यताअनुसार पाण्डवहरू अज्ञातवासमा रहँदा द्रौपदीसहित सूर्यदेवको आराधना गरेका थिए। त्यस्तै, सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेको उल्लेख छ। छठ पर्वको पहिलो दिन व्रतालुहरूले स्नान गरी चोखो भोजन गरेर व्रत सुरु गर्छन्। दोस्रो दिन पञ्चमीमा खरना विधिअन्तर्गत सखर मिसाइएको खीर तयार गरी छठी मातालाई चढाएर प्रसादका रूपमा ग्रहण गरिन्छ।
षष्ठी अर्थात् आज पर्वको मुख्य दिन व्रतालुहरू दिनभर निराहार व्रत बसेर साँझ नदी, पोखरी तथा जलाशयका किनारमा पुग्छन्। त्यहाँ केराको घरी, उखु, नरिवल, विभिन्न फलफूल तथा ठेकुवा, भुसुवालगायत प्रसाद सामग्री राखेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ।
रातभर जाग्राम बसेपछि भोलि सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत् समापन हुन्छ। छठ पर्वमा व्रत बसेर सूर्यदेवको आराधना गरे दुःख, कष्ट र दरिद्रताबाट मुक्ति मिल्ने तथा परिवारमा सुख, शान्ति र समृद्धि छाउने धार्मिक विश्वास छ।
कुनै समय तराईका सीमित क्षेत्रमा मात्र मनाइने छठ पर्व अहिले देशभर फैलिएको छ। राजधानी काठमाडौंमा पनि गुह्येश्वरी, गौरीघाट, गहनापोखरी, नागपोखरी, कमलपोखरीलगायतका स्थानमा छठ पूजाका लागि विशेष सजावट गरिएको छ।
त्यस्तै, वाग्मती, नख्खु र विष्णुमती नदी किनारमा समेत छठ पूजाको तयारी गरिएको छ। पछिल्लो समय छठ पर्वले राष्ट्रिय तथा सांस्कृतिक पहिचानका रूपमा व्यापकता पाउँदै गएको छ।








