शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले समितिले बोलाएको बैठकमा मन्त्री र सांसदहरू उपस्थित हुन नसक्दा कानून निर्माणमा ढिलाइ भइरहेको बताएका छन्।
बिहीवार बसेको समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयक र नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको छलफलमा सांसद र मन्त्रीलाई बैठकमा उपस्थित हुन आग्रह गरेपनि समय छैन भन्दै टार्ने गरेको भन्दै आपत्ति जनाए।
उनले बैठक बोलाइसकेपछि समय छैन भनेर एक घण्टामै उठेर हिँड्दा समितिको बैठक बस्नका लागि कोरम नपुग्ने र त्यसले कानून निर्माण गर्न समय लाग्ने गरेको बताए।
उनले समयसँगसँगै समितिमा आएका विधेयकहरुको छलफलका लागि प्राथमिकता दिन सांसदहरूसँग आग्रह गर्दै विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल गर्नु भन्ने पत्र समितिलाई पठाएको भन्दै मन्त्रालयको जिम्मेवारी बाहिरको कुरा भएको बताए।
सभापति थापाले समितिलाई मन्त्रालयले पत्राचार गरेर यसलाई गर्, यसलाई नगर् भन्ने आदेश दिने ठाउँ नभएको बताए।
मन्त्री सम्बन्धित समितिमा समितिले बोलाएको समयमा उपस्थिति हुनैपर्ने उल्लेख गरे।
उनले विद्यालय शिक्षा र विश्वविद्यालय शिक्षा विधेयकलाई संसदमा पेश नगरेसम्म मन्त्रीको प्रस्ताव आएपनि आफू नजाने प्रतिवद्धता जनाए।








