२०८३ साउन ३ , आइतबार

प्रतिनिधि सभाको विषयगत समितिमा सांसदहरु हेरफेर



प्रतिनिधि सभाका केही सदस्यहरुलाई विषयगत समितिमा हेरफेर गरिएको छ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यहरुलाई विषयगत समितिमा हेरफेर गरिएको घोषणा गरेका हुन्।

जसअनुसार कार्य व्यवस्था परामर्श समितिमा अब्दुल खानको स्थानमा अनिता देवीलाई मनोनयन गरिएको छ। संसदीय सुनुवाई समितिमा डोलप्रसाद अर्यालको स्थानमा डा. स्वर्णिम वाग्लेको नाम हेरफेर गरिएको छ।

त्यसैगरी, अर्थ समितिमा डा. प्रकाशरण महत, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायणप्रकाश साउद, कानून न्याय तथा मानव अधिकार समितिमा सीता गुरुङ र सुहाङ नेम्वाङलाई राखिएको सभामुखले जानकारी दिए।

त्यसैगरी रमेश रिजाल र सुरेन्द्रराज आचार्यलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा राखिएको छ। टेकबहादुर गुरुङलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा राखिएको छ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा धनराज गुरुङ, डिगबहादुर लिम्बू र मोहनबहादुर बस्नेतलाई राखिएको छ।

सभामुख घिमिरेका अनुसार अनिता देवीलाई राज्य व्यवस्था तथा सुशासन समितिमा राखिएको छ। प्रतिनिधि सभा सदस्य हरि ढकाल सार्वजनिक लेखा समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा हेरफेर गरिएको छ भने असिम साहलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट सार्वजनिक लेखा समितिमा पुर्‍याइएको छ।

प्रकाशित मिति : २०८१ असार १४ गते बिहीबार