२०८३ साउन ४ , सोमबार

एसिया कपमा दमदार प्रदर्शनका लागि तयार छौं: प्रशिक्षक कटुवाल



नेपाली महिला क्रिकेट टीमका प्रशिक्षक मनोज कटुवालले एसिया कपमा दमदार प्रदर्शनका लागि नेपाल तयार रहेको बताएका छन्।

उनले नेपालको महिला क्रिकेटलाई विश्वभर स्थापित गराउनका लागि पछिल्लो समय ब्याटिङ्ग, बलिङ्ग र फिल्डिङ्ग सबैमा सुधार गर्दै तयारी गरिरहेको भन्दै एसिया कप जित्ने लक्ष्य रहेको बताए।

उनले नेपाली महिला टीममा रहेका सबै खेलाडीहरूले आफ्नो हरेक पक्षमा काम गरेको हुँदा त्यसको नतिजा पनि राम्रो आउने बताए।

‘पछिल्लो दुई महिनादेखि क्याम्पमा रहेको र धेरै कुरामा सुधार गर्दै तयारी हुँदैछ,’ उनले भने, ‘आगामी दिनमा महिला क्रिकेटको प्रदर्शनबाट पनि नेपाललाई विश्वमा चिन्ने छन्।’

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया कप तयारीका लागि गरेको सहयोगले पनि तयारीमा ठूलो मद्दत भएको भन्दै प्रशिक्षक कटुवालले एसिया कप जित्नेगरी मैदान उत्रने बताए।

उनले भने, ‘भारत र पाकिस्तानसँगको खेल बढी चुनौतीपूर्ण हुन सक्छ। तर, हामी त्यसका लागि पनि तयार छौं। हाम्रो ब्याटिङ्ग, बलिङ्ग र फिल्डिङ्गको आधारमा हामी क्रिकेटका दिग्गज भनिएका मुलुकसँग पनि जित्नेगरी तयारीमा छौं।’

आगामी महिना श्रीलङ्कामा हुने एसिसी महिला एसिया कप २०२४ का लागि इन्दु वर्माको कप्तानीमा टीमको घोषणा गरिएको छ। नेपालले आफ्नो पहिलो खेलमा युएईसँग सामना गर्नेछ।

प्रकाशित मिति : २०८१ असार १५ गते शुक्रबार