२०८३ असार ३२ , बिहीबार

ओलम्पिककी हजुरआमा जेङ



जेङ झिइङले सन् १९८९ मा उत्तरी चिलीमा टेबल टेनिस सिकाउन चीन छोडिन्, त्यही वर्ष तियानमेन स्क्वायर नरसंहार भयो। उनकै छोरी तानिया जेङले त्यसको ३५ वर्षपछि ५८ वर्षको उमेरमा दक्षिण अमेरिकी राष्ट्र चिलीबाट ओलम्पिकमा शनिबार डेब्यु गरेकी छन्।

गत वर्ष सान्टियागोमा सम्पन्न प्यान अमेरिकन गेम्समा कांस्य पदक जितेर एकाएक चिलीमा चर्चित भएकी थिइन्, उनी। यद्यपि, धेरै वर्षअघि टेबलटेनिसबाट उनले सन्न्यास लिएकी थिइन्। व्यवसाय र परिवारलाई समय दिन उनले यो खेलबाट बिदा लिने निर्णय गरेकी हुन्। तर, एक व्यावसायिक खेलाडी बन्ने हुटहुटी भने उनीमा अझैँ थियो। कोरोना महामारीका समयमा उक्त हुटहुटी फेरि ब्युँतियो।

त्यही हुटहुटीले उनलाई पेरिस ओलम्पिक २०२४ सम्म पुर्‍यायो। ‘ओलम्पिकमा मैले स्थान बनाउँछु भनेर कहिल्यै सोचेको थिइन्ँ। किनभने टेबल टेनिस मनोरञ्जनका लागि मात्रै खेलेको थिएँ। धेरै खेलेर थप आत्मविश्वास बढ्यो। जहिले पनि जितिरहने हुनाले मलाई धेरैभन्दा धेरै खेल्न मन पर्दथ्यो,’ जेङले भनिन्। ओलम्पिकमा छनोट हुनु हरेक खेलाडीको सपना हुन्छ। यो सपना जो कोहीले पूरा गर्न सक्दैनन्। उनलाई पनि यो महाकुम्भमा छनोट हुँदा सपनाझैं लाग्छ।

‘ओलम्पिक खेल्नु खेलाडीको सपना हुन्छ। यो उमेरमा सपना पूरा हुँदा मलाई ठूलो खुसी मिलेको छ,’ आफ्नो देशको प्रतिनिधित्व गरेकी सबैभन्दा वृद्ध खेलाडी जेङले भनिन्। दक्षिणी चीनको फोसानमा जन्मिएकी जेङ स्थानीय टेबल टेनिस प्रशिक्षककी छोरी हुन्। बाल्यकालमा उनी आफ्नो आमा झिइङले अन्यलाई प्रशिक्षण गराउँदा उनी त्यसैको सिको गर्थिन्। झिइङ कुनै बेला टेबल टेनिसकी उत्कष्ट खेलाडी थिइन्। चीनमा हुने हरेक प्रतियोगितामा एक दशकसम्म आफ्नो दबदबा कायम राखेकी थिइन्, उनले।

तर, सन् १९८९ मा चिलीको सुदूर उत्तरमा पर्ने अरिकाका युवा खेलाडीलाई टेबल टेनिस सिकाउन उनलाई प्रस्ताव आयो। त्यो प्रस्ताव स्वीकारेपछि उनको जीवनले नयाँ मोड लियो। उनी खेलाडीबाट प्रशिक्षकमा पदोन्नति भइन्। केही समयपछि नै उनले विवाह गरिन् र उत्तरी चिलीको इक्विक सहरमा बसाइँ सरिन्। जेङ हाल १५१औं वरीयताकी टेबल टेनिस खेलाडी हुन्। उनी चिलीको राष्ट्रिय टोलीको एक सदस्य पनि हुन्। उनले डोमिनिकनकी इभा पेना ब्रिटोलाई पराजित गर्दै प्यान अमेरिकन गेम्समा महिला एकलतर्फ डेब्यु गरेकी थिइन्।

उनी अर्को राउन्डमा अमेरिकाकी खेलाडी लिली एन झाङसँग पराजित भइन्। तर, पनि टिम प्रतिस्पर्धामा भने उनी कांस्य पदक जित्न सफल भइन्। जेङको जीवन अब इक्विक र सान्टियागोको बीचमा विभाजित छ। खेलको लागि उनीसँग भोक बढेको छ। प्रशंसकको अथाह स्नेहले उनलाई अझै राम्रो प्रदर्शन गर्न प्रेरित गर्दछ। ‘सबैले मलाई चिन्छन्, बधाई दिन्छन् र मसँग फोटो खिच्न चाहन्छन्। यसले निकै आनन्द दिन्छ,’ उनले भनिन्, ‘पहिले नै मेरो हृदय र आत्मामा चिली छ। सबै कुरा यही राष्ट्रले दिएको छ। त्यसैले म मरेपछि मलाई यहाँ गाड्नेछन् भन्नेमा आशावादी छु।’ पेरिसमा थप अनुभव र जीवनका सपना पूरा गर्न जेङले उही दृढ संकल्पका साथ खेलिन्।

कुनै पनि चोट पटकले ओलम्पिकमा आफ्नो प्रदर्शनमा असर पुग्छ कि भन्ने डरले उनलाई सताइरहेको थियो, जुन कुनै पनि वृद्ध खेलाडीका लागि एक चिन्ताको विषय पनि हो। ‘कुनै पनि खराब चालले म घाइते हुन सक्छु। यो कुराले मलाई धेरै चिन्तित बनाइरहेको छ,’ उनले खेलमा उत्रिनुअघि भनेकी थिइन्। प्रारम्भिक चरणमा लेबनानकी ४६ वर्षीया मारियाना सहकियानविरुद्ध प्रतिस्पर्धा गर्दा ‘ओलम्पिककी हजुरआमा’ भनेर चिनिने जेङको खेल चिलीका नागरिकले मात्रै होइन, विश्वले टेलिभिजनमार्पmत हेरेका थिए। जेङका भाइ र उनका ९२ वर्षीया बुबाले भने चीनबाट उक्त खेल हेरे। ‘जब बुबाले म ओलम्पिकमा छनोट भएको कुरा थाहा पाउनुभयो, कुर्सीबाट ओर्लिएर चिच्याउन थाल्नुभयो। उहाँले त्यसपछि यो तिम्रो आजीवन सपना हो, जुन अहिले पूरा भएको छ। राम्रो खेल्नु भन्नुभयो,’ उनले सुनाइन्।

तर, शनिबार भएको प्रारम्भिक चरण भने उनले पार गर्न सकिनन्। उनीले पहिलो सेट ११–४ ले जितेकी थिइन्। तर, त्यसपछि उनी खेलमा फिक्का परिन्। उनले बाँकीका सेट १२–१४,५–११,३–११ र ८–११ ले गुमाइन्।

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतबार