२०८३ असार ३२ , बिहीबार

हेलिकप्टर दुर्घटना: मृतकको शव शिक्षण अस्पतालमा, पोस्टमार्टम भोलि



एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका पाँचै जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।

बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत शव सङ्कलन गरी शव परीक्षण तथा अन्य कार्यका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको जनाएको हो।

त्रिवि शिक्षण अस्पताल स्रोतका अनुसार मृतकको पोस्टमार्टम भोलि (बिहीबार) बिहानदेखि सुरु हुनेछ। प्रहरीबाट शवको मुचुल्का प्राप्त भएपछि पोस्टमार्टमको काम सुरु गरिने छ। जसका लागि समय लाग्ने हुँदा पोस्टमार्टमकाे काम भोलि मात्र सुरु हुने स्रोतको भनाइ छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार बुधबार दिउँसो १ः५४ बजे रसुवाको स्याँफ्रुबेसीका लागि उडान भरेको उक्त हेलिकप्टर तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो।

दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ खोज तथा उद्धारका लागि सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको थियो।

मृत्यु हुनेमा पाइलट अरुण मल्ल र चिनियाँ नागरिकमा ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी ली, ४१ वर्षीय जेमिङ सी र महिला ३१ वर्षीय वु यीयाओ रहेका छन्। यसैबीच सरकारले एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको छ।

नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा गठन भएको आयोगको सदस्यमा विष्णु बस्नेत र तनुजा पोखरेल रहेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले बताए।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधबार