२०८३ असार ३२ , बिहीबार

जनप्रतिनिधि अहङ्कार र दम्भबाट निर्देशित हुनु हुँदैन: प्रधानमन्त्री



प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित भएर लाग्न आग्रह गरेका छन्।

उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग आज (बुधबार) सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले ‘को भन्दा को ठूलो’ भन्ने ढङ्गले नभई केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ मिलेर समस्याको समाधानगरी जनतालाई सेवा दिनुपर्नेमा जोड दिए।

“जनप्रतिनिधिलाई जनताका पक्षमा काम गर्न निर्वाचित भएका हुन्छन्। त्यसैले हामीले अहङ्कार र दम्भबाट निर्देशित हुनुहुन्न। जनताप्रति शालीन र विनयशील हुनुपर्छ। हामीसँग जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार हुँदैन,” प्रधानमन्त्री ओलीले भने, “सडकमा हिँडेका जनताले जनप्रतिनिधिलाई गरेका गुणगान सक्कली र दिगो हुन्छन्। सामाजिक सञ्जाल र नक्कली नामबाट गरिएका प्रशंसा दिगो हुँदैनन्।”

उक्त फोरमले नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहका नाममा आफूखुसी सडक बत्तीको बिल पठाएर बक्यौता देखाउँदा समस्या आएकोलगायत विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको थियो।

जवाफमा प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय र निकायसँग बुझेर आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए। उनले फोहरमैला व्यवस्थापनको दीगो समाधान गर्नुपर्नेमा पनि सरकार सजग रहेको स्पष्ट पारे।

फोरमका अध्यक्ष चिरीबाबु महर्जनले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गरे।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधबार