Author:

  • बन्चरो हानेको आरोपमा एक जना पक्राउ

    बन्चरो हानेको आरोपमा एक जना पक्राउ

    आफ्नै छिमेकीलाई बन्चरो प्रहार गरी घाइते बनाएको आरोपमा सल्यानमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । सल्यानको कुमाख गाउँपालिका–६ सेराडाँडा घर भएका १९ वर्षीय पत्रुस दर्लामी पक्राउ परेका हुन् ।
    जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर केसीका अनुसार दर्लामीले स्थानीय १८ वर्षीय डम्मर बिकलाई बन्चरो प्रहार गरेका थिए । दर्लामीलाई घर नजिकैबाट पक्राउ गरिएको र बन्चरो बरामद गरेको केसीले बताए ।
    बन्चरो प्रहारबाट घाइते बिकको नेपालगन्जस्थित नर्सिङ अस्पतालमा उपचार भइरहेको छ । पक्राउ परेका दर्लामीलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखेर घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताए ।

  • एनपीएल–२ मा कर्णालीको पहिलो जित

    एनपीएल–२ मा कर्णालीको पहिलो जित

    सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णालीले पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा मार्क वाटको उत्कृष्ट शतकमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि ९ विकेटको सानदार जित निकालेको हो । वाटले शतक प्रहार गरेछि लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णालीले १२.२ ओभरमै एक विकेटको क्षतिमा पूरा ग¥यो । उत्कृष्ट लयमा देखिएका वाटले ४४ बलमा ६ चौका र १२ छक्का प्रहार गर्दै नटआउट ११४ रन बनाए । विल बोसिस्टोले २० बलमा नटआउट २९ रन जोडे । उनले २ चौका र एक छक्का प्रहार गरे ।
    वाटले दशौं ओभरमा लुम्बिनीका कप्तान रोहित पौडेलविरुद्ध २६ रन प्रहार गरेका थिए । सो ओभरमा उनले चार छक्का र एक पटक दुई रन लिएका थिए । वाटले यो सिजनको एनपिएनमा पहिलो शतक प्रहार गरेका हुन् । अघिल्लो सिजन पोखराका लागि आन्द्रेस गौसले लुम्बिनी लायन्सविरुद्ध नै १०४ रन प्रहार गरेका थिए ।
    त्यसअघि कर्णालीका ओपनर प्रियांक पाञ्चल १२ रनमा आउट भएका थिए । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १५६ रन बनायो । लुम्बिनीका कप्तान रोहितकुमार पौडेल एक रनले अर्धशतक बनाउन चुके । उनी १७औं ओभरको चौथो बलमा सोमलको बलमा नाजिबुल्लाह जाद्रानबाट ४९ रनमा क्याच भए । रोहितले ४३ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
    खराब सुरुवात गरेको लुम्बिनीका ओपनर सन्दीप जोरा दोस्रो ओभरमा नन्दन यादवको बलमा विल बोसिस्टोबाट एक रनमै क्याच भए । डार्शी सर्टले १९ रन बनाए । उनले १४ बलमा ४ चौका प्रहार गरे । डार्शी र रोहितबीच दोस्रो विकेटको लागि ३६ रनको साझेदारी भयो । सुस्त ब्याटिङ गरेको लुम्बिनीले पावरप्लेमा एक विकेटको क्षतिमा ३६ रन र १० ओभरमा ३ विकेटको क्षतिमा ५९ रन मात्र जोड्न सकेको थियो । यद्यपी लुम्बिनीले पछिल्लो पाँच ओभरमै ६८ रन जोडेको थियो ।
    दिलीप नाथ ६ रन, गुल्बादिन नइब ७ रन र सुमित महर्जनले ४ रन मात्र जोड्न सके । जेजी स्मितले १४ बलमा दुई चौका र १ छक्काको मद्दतमा २३ रन जोडे । अन्त्यमा रुबेल ट्रम्पलम्यानले १४ बलमा १ चौका र ३ छक्काको मद्दतमा नटआउट २९ रन जोडेपछि लुम्बिनीले १५० रन कटाएको थियो । बलिङमा कर्णालीका नन्दन यादवले २ विकेट लिए भने सोमपाल कामी, गुल्सन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले १–१ विकेट लिए । एनपीएल–२ मा यसअघि भएको पहिलो खेलमा लुम्बिनी विजयी हुँदा कर्णालीले भने हार ब्यहोरेको थियो ।

  • सामाजिक सुरक्षा कोषमा कर्णाली प्रदेशको उपस्थिति सबैभन्दा कमजोर

    सामाजिक सुरक्षा कोषमा कर्णाली प्रदेशको उपस्थिति सबैभन्दा कमजोर

    सामाजिक सुरक्षा कोषमा कर्णाली प्रदेशको सहभागिता निकै कमजोर पाईएको छ । सरकारले सात बर्षअघि सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरुआत गरेको थियो । यसमा कर्णालीको उपस्थिति धेरै हुनुपर्नेमा न्यून रहेको सामाजिक सुरक्षा कोषको तथ्यांकले देखाएको छ । सामाजिक सुरक्षा कोषका उपनिर्देशक डा. सचितकुमार भण्डारीका अनुसार कर्णालीमा हालसम्म २९४ रोजगारदाता मात्रै कोषमा आवद्ध भएका छन् । उनका अनुसार ती रोजगारदाता संस्थामा आवद्ध २ हजार ६९५ जना योगदानकर्ता कोषमा आवद्ध हुन सकेका छन् ।
    सरकारले विशेषगरी अनौपचारिक क्षेत्रका श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरी रोजगारदातालाई सामाजिक सुरक्षा प्रदान गर्न २०७५ मंसिर ११ गतेबाट योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेको हो । सामाजिक सुरक्षा कोषको मुख्य उद्देश्य भनेकै आम अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु थियो ।
    अन्य प्रदेशको तुलनामा कर्णालीका सहभागिता एकदमै कम भएको भण्डारीले बताए । सबै क्षेत्रका पायक पर्ने स्थानहरुमा कोषको कार्यालय स्थापना नहुनु, रोजगारदाता, श्रमिक र स्वरोजगार व्यक्तिलाई कोषका बारेमा जानकारी नहुनु, तीनै तहका सरकारले आफ्ना नीति तथा कार्यक्रममा यो विषयलाई प्राथमिकता नदिनु लगायतका कारणले कर्णालीको उपस्थिति सामाजिक सुरक्षा कोषको कमजोर भएको उनी बताउँछन् । अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न तीनै तहका सरकार र रोजगारदातालाई जिम्मेवार बनाउन आवश्यक रहेको बताए । उनले कर्णालीमा कार्यालय स्थापना गर्ने तयारी गरिएको बताए । २०७७ मै कार्यालय स्थापना गर्ने तयार भएपछि अनुमति नपाएको भण्डारीले बताए । अहिले संगठन तथा व्यवस्थापनको तयारी अन्तिम अवस्थामा रहेकोले अबको एक बर्षभित्र कर्णाली प्रदेशको राजधानी सुर्खेनमा कोषको कार्यालय स्थापना हुने उनले जानकारी दिए ।
    कोषको तथ्याङ्कअनुसार सबैभन्दा बढी सामाजिक सुरक्षा कोषमा रोजगारदाता र योगदानकर्ता (श्रमिक र स्वरोजगार व्यक्ति) वागमती प्रदेशबाट छन् । बागमतीबाट प्रदेशमा १४ हजार ८३८ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् भने ४ लाख ८२ हजार ९०७ जना योगदानकर्ता आबद्ध छन् । यस्तै, दोस्रोमा सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रदेश कोशी रहेको छ । कोशीमा २ हजार ४७५ रोजगारदता सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । यस्तै ७२ हजार ३५९ जना योग्दानकर्ता सहभागी रहेको उपनिर्देशक भण्डारीले बताए ।
    सामाजिक सुरक्षा कोषमा लुम्बिनीबाट १ हजार ८६५ रोजगारदाता सहभागी छन् भने २५ हजार ११३ जना योगदानकर्ता सहभागी छन् । गण्डकीबाट १ हजार २०६ रोजगारदाता र २७ हजार ७५९ जना योगदानकर्ता कोषमा आवद्ध भएका छन् । मधेश प्रदेशका १ हजार २१४ रोजगारदाता आवद्ध रहेका छन् भने ३१ हजार ६७६ जना योगदानकर्ता आवद्ध छन् । सामाजिक सुरक्षा कोषमा कर्णालीको भन्दा सुदूरपश्चिमको उपस्थिति केही बढी छ । सुदूरपश्चिमबाट २६३ रोजगारदाता सहभागी हुँदा ४ हजार १२७ योगदानकर्ता सामाजिक सुरक्षा कोषमा आवद्ध छन् ।
    हालसम्म देशभरबाट २२ हजार २५६ रोजगारदाता कोषमा आवद्ध भएका छन् । यस्तै २६ लाख २९ हजार ४२९ श्रमिक तथा स्वरोजगार व्यक्ति योगदानकर्ताका रुपमा कोषमा आवद्ध भएका छन् । तीमध्ये ६ लाख ४६ हजार ६३७ जना स्वदेशमै काम गर्नेहरु छन् भने १९ लाख ८१ हजार ४९६ जना वैदेशिक रोजगारीमा रहेकाहरु जोडिएका छन् । ७९८ जना अनौपचारिक क्षेत्रमा रोजगारी गर्ने र ५६७ जना स्वरोजगार व्यक्ति सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । हालसम्म कोषमा ९५ अर्ब पाँच करोड रुपैयाँ योग्दानका रुपमा संकलन भएको कोषका उपनिर्देशक भण्डारीले जानकारी दिए । त्योमध्ये १७ अर्ब ५५ करोड रुपैयाँ दावी भुक्तानी भएको उनले बताए ।
    योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअन्तर्गत पाँच वटा सुविधाहरु उपलब्ध गराइन्छ । जसमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्ध अवस्थाका सुरक्षा योजना छन् । अन्तराष्ट्रिय श्रम संगठनका राष्ट्रिय कार्यक्रम संयोजक तारा कँडेलले आधारभूत आय र स्वास्थ्यको सुनिश्चिता हुने भएकाले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्धता अनिवार्य रहेको बताइन् । आफ्नो आधारभूत आय सुनिश्चित गर्न नसक्नेहरुका लागि सामाजिक सुरक्षा कोष महत्वपूर्ण रहेको उनले बताइन । ‘बालबालिका, जेष्ठ नागरिक, कडा रोगका बिरामी, अपाङ्गता भएका व्यक्ति, घाइते, परिवारको मुख्य आय स्रोत गुमेको अवस्थामा यसले सुरक्षा दिने भएकाले यो सबैका लागि अपरिहार्य छ ।’ उनले भनिन् । नौपचारिक क्षेत्रका श्रमिकहरु नेपालको श्रम बजारको ठुलो हिस्सा रहेकाले यस क्षेत्रका श्रमिकमाझ सामाजिक सुरक्षाको विस्तारले गरिबी र असमानता घटाउन मद्दत पुग्ने कँडेलले बताइन् ।
    श्रमशक्ति सर्वेक्षणअनुसार नेपालमा १५ वर्षमाथिका जनसंख्यामध्ये ३८.५ प्रतिशत श्रम गर्न सक्नेहरु छन् । यसमा महिला २६.३ प्रतिशत छन् भने पुरुष ५३.८ प्रतिशत छ । यीमध्ये ८४.६ प्रतिशत श्रमिकहरु अनौपचारिक रुपमा कार्यरत रहेको उक्त सर्वेक्षणले देखाएको छ । काम गरीरहेका तीमध्ये तनि चौथाई श्रमिकले सुरक्षित श्रमको मूल्यसमेत पाउन नसकेको सर्वेक्षणले देखाएको छ । कँडेल भन्छिन्, ‘राज्यले सुविधा दिएर अगाडि ल्याउनुपर्ने वर्गका लागि सामाजिक सुरक्षा अति नै आवश्यक छ ।’

  • इन्सेकले भन्यो– मृत्युदण्ड न्याय होइन

    इन्सेकले भन्यो– मृत्युदण्ड न्याय होइन

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कुनै पनि अवस्थामा मृत्युदण्ड न्यायको उपाय बन्न नसक्ने बताएको छ । बिहिबार एक विज्ञप्ति जारी गर्दै इन्सेकले बंगलादेशको न्यायालयले गरेको यस्तो निर्णय कार्यान्वयन रोक्न बंगलादेशी सरकारलाई आग्रह समेत गरेको छ ।
    इन्सेकका अध्यक्ष विजयराज गौतमले बिहिबार जारी गरेको विज्ञप्तिमा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालगायत अन्य अधिकारीहरुलाई विशेष अदालतले ०८२ मंसिर १ गते सुनाएको मृत्युदण्डको फैसलाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । यो फैसला केवल कानूनी प्रक्रिया मात्र नभई दक्षिण एसियाको लोकतान्त्रिक अभ्यास, मानव अधिकार, प्राकृतिक न्याय, निष्पक्ष सुनुवाइ, राजनीतिक स्वतन्त्रता तथा क्षेत्रीय स्थिरताको भविष्यसँग गम्भीर रुपमा जोडिएको विज्ञप्तिमा उल्लेख छ ।
    ‘मृत्युदण्डको प्रावधान विश्वव्यापी रुपमा अन्त्य हुनुपर्ने मानव अधिकार अभियानको भावना र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रको मापदण्डविपरित रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘इन्सेकले विशेष अदालतको निर्णय न्यायोचित प्रक्रियाअनुसार नभएको र अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डको अवहेलना भएको निश्कर्ष निकालेको छ ।’
    बंगलादेश यातनाविरुद्धको महासन्धि (सीएटी) को पक्ष राष्ट्र भएकोले क्रूर, अमानवीय वा अपमानजनक सजायलाई निषेध गर्नुपर्ने विज्ञप्तिमार्फत औंल्याईएको छ । बंगलादेशले दिएको मृत्युदण्डको फैसला महासन्धिको विपरित रहेको पनि इन्सेकले औंल्याएको छ । यसबाहेक बंगलादेश अन्तर्राष्ट्रिय फौजदारी अदालतसम्बन्धी रोम विधानको समेत पक्ष राष्ट्र भएकोले मृत्युदण्ड पूर्णरुपमा निषेधित हुनुपर्ने औंल्याईएको छ ।

     

  • अर्कैले सल्काएको आगोले जलेको थियो ‘सान्ताको अचार’ पसल

    अर्कैले सल्काएको आगोले जलेको थियो ‘सान्ताको अचार’ पसल

    दैलेखको भगवतीमाई गाउँपालिका–६ की खगिसरा बुढाले सञ्चालन गरेको ‘सान्ताको अचार’ पसल गएको आइतबार बिहान जलेर खरानी भएको थियो । उनले पसल सुरु गरेको दुई दिनमै जलेको थियो । खगिसराले १५ लाखको अचार लगायतका सामान र एक लाख रुपैयाँ पसल सजावटमा लगाएको लगानी दुई दिनमै खरानी भएको थियो । उक्त पसल पूर्वसभासद सान्ता चौधरीको उद्योगको अचारको आउटलेटका रुपमा थियो । नेपालमा चर्चित उक्त ब्राण्ड बेचेर व्यावसायिक सफलताको सपना देखेर पसल सुरु गरेकी खगिसरा दुई दिनभित्रै असफल हुन पुगिन् । कात्तिक ११ गते पसल सुरु गरेकी खगिसराले आगलागी हुनुको दुई दिनअघि २८ गते मात्र उद्घाटन गरेकी थिईन् । पसलको उद्घाटन गर्न पूर्वसभासद चौधरी आफैं सुर्खेत आएकी थिईन् ।
    तत्काल उक्त पसलमा विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको थियो । पीडितको निवेदनका आधारमा खोजी गर्दै जाँदा उक्त पसलमा अर्कैले आगो लगाइदिएको खुलेको छ । खगिसराको पसलको छेउमै भएको नवदुर्गा बेवी सप सञ्चालक जुना कुमारी बोहराका देवर दीपक कँडेलले आगो लगाएको खुलेको छ । कँडेलले दाजुसँगको रिसिईवीले भाउजुको पसलमा आगो लगाएका थिए । आगो लगाएपछि खगिसरा र जुनाका दुवै पसल जलेर खरानी भएका छन् ।
    आरोपित दीपकलाई जिल्ला प्रहरी कार्यालयको टोलीले मंगलबार राति वीरेन्द्रनगरस्थित यरीचोकबाट फक्राउ गरेको छ । घटना घटाएको मितिदेखि नै फरार रहेका उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) मोहनजंग बुढथापाले जानकारी दिए । दीपकले पारिवारिक विषयलाई लिएर पसलमा आगो लगाएको खुलेको उनले बताए । ‘पारिवारिक झगडा र अंशवन्डाको विवादका कारण देवरले नै भाउजुको पसलमा पेट्रोल छर्केर आगो लगाएको देखिएको छ, घटनामा संलग्नलाई पक्राउ गरिएको छ ।’ डिएसपी बुढथापाले भने ।
    सुरुमा विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिए पनि अनुसन्धानबाट यो नियोजित आगजनी भएको देखिएको उनले बताए । प्रहरीको नियन्त्रणमा रहेको दीपकले पहिले पनि घरमा झगडा हुँदा आगो लगाईदिने धम्की दिने गरेको परिवारका सदस्यको भनाई उद्दृत गर्दै डिएसपी बुढथापाले बताए । पसलमा आगो लगाएकै दिने उनले वीरेन्द्रनगर–८ कालिञ्चोकमा रहेको आफू बस्ने घरमा पनि आगो लगाएका थिए । त्यसपछि वीरेन्द्रनगर–६ सनिहल लाईनस्थित सुपरमार्केटको १ नम्बर सर्टरमा रहेको भाउजुले सञ्चालन गर्ने बेवी सपमा आगो लगाएका थिए । सान्ताको अचार पसल २ नम्बर सर्टरमा थियो ।
    ‘राति ३ बजे घरमा आगो लगाएको रहेछ, त्यसपछि ४ बजे आफ्नो जेठो दाईको पसलमा पुगेर आगो लगाएको देखियो,’ डिएसपी बुढथापाले भने, ‘घरमा आगो लगाईसकेपछि एउटा कागजमा नोट लेखेर छोडेको छ, त्यसमा अझ पनि यही घरमा बस्यो भने जलाएर मार्छु भनेर भाडावाला र परिवारलाई धम्की दिईएको छ ।’ कँडेलको परिवार बस्ने कालिञ्चोकको घरमा कर्णाली क्रिकेट एकेडेमी थियो । उनले आगो लगाउँदा क्रिकेट एकेडेमीमा भएका ५० हजार बढी मूल्य बराबरका सामग्री जलेर नष्ट भएका छन् ।
    डिएसपी बुढथापाका अनुसार दीपकका दुई भाई छन् । उनीभन्दा अगाडि दाई छन् । उनलाई अंशवण्डामा चित्त नबुझेपनि घर र पसलमा आगलागी गरेको बुढथापाले बताए । आगलागीपछि लेखिएको नोटमा ‘कसैलाई उक्त घरमा नबस्न र घर आफ्नो भागमा हुनुपर्ने’ मनशाय उल्लेख छ ।
    दीपक लागुऔषध सेवनकर्ता रहेको डिएसपी बुढथापाले बताए । यसले उनको मानसिक अवस्था पनि सन्तुलनमा नभएको देखिएको उनले बताए । ‘हाम्रो क्रिमिनल रेकर्ड सिनोप्सिस (सीआरएस) मा पनि लागुऔषध मुद्दामा पक्राउ परेको देखिन्छ, लागुऔषध सेवनका कारण उनी मानसिक रुपमा पनि त्यति ठीक देखिँदैनन् ।’ उनले भने ।
    दीपकले पसलमा आगो लगाईसकेपछि वीरेन्द्रनगर नगरपालिकाको दमकलका चालकले बिहान करिब ३ बजे गणेशचोकतिर पानी भर्न जाँदै गर्दा बजारमा धुवाँको मुस्लो देखेका थिए । चालकले नै प्रहरीलाई खबर गरेपछि दमकल र प्रहरीको सहयोगमा बिहान ५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । पसल जलेपछि खगिसरा बुढाले प्रहरीमा निवेदन दिएकी थिईन् । निवेदनका आधारमा तीन दिनसम्म खोजी गर्दा बल्ल उनलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
    नियन्त्रणमा लिईसकेपछि दीपक आफैंले घर र भाउजुको पसलमा आगो लगाएको स्वीकारेको डिएसपी बुढथापाले बताए । ‘पाउनु पर्ने अंश पाइन, त्यति बराबरको उनीहरुको नोक्सान होस् भनेर आगो लगाइदिएको हुँ,’ उनको बयान उद्दृत गर्दै बुढथापाले भने । आगजनी बाट दुई पसलमा कति क्षति भयो भन्ने विवरण संकलन भईरहेको छ ।

  • पसलमा आगो लगाएको आरोपमा एक जना पक्राउ

    पसलमा आगो लगाएको आरोपमा एक जना पक्राउ

    जिल्ला प्रहरी कार्यालय सुर्खेतले पसलमा आगो लगाएको आरोपमा एक जनालाई वीरेन्द्रनगरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर–८ का दीपक कँडेल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
    कात्तिक ३० गते वीरेन्द्रनगर ६ सनिहलस्थित सुपरमार्केटको १ नम्बर सर्टरमा सञ्चालित नवदुर्गा बेवी सप र २ नम्बर सर्टरमा रहेको अचार पसलमा आगलागी भएको थियो । बिहान ४ बजेतिर लागेको आगो प्रहरीले दमकलको सहायताले नियन्त्रणमा लिएको थियो ।
    आगलागीबाट जुना कुमारी बोहराले सञ्चालन गरेको बेवी सप र खगीसरा बुढाले सञ्चालन गरेको अचार पसलका सामग्री पूर्णरुपमा जलेर नष्ट भएका छन् । आगलागीपश्चात पीडितले प्रहरीमा छानविन गरिदिन निवेदन दिएका थिए । निवेदनका आधारमा खोजी गर्नेक्रममा मंगलबार कँडेललाई पक्राउ गरिएको डिएसपी बुढथापाले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भईरहेको उनले बताए ।