बजेट अभावमा पर्वतका एक सय १५ खानेपानी आयोजना अधुरै

बजेट अभावका कारण पर्वतका एक सय १५ खानेपानी आयोजना अधुरै रहेका छन्। ‘एक घर एक धारा’ पुर्‍याउने लक्ष्यसहित आर्थिक वर्ष २०६४-६५ देखि सुरु भएका दुईबर्से र पाँचबर्से योजना बजेट अभावमा डेढ दशकसम्म पनि बन्न सकेका छैनन्।

हाल जिल्लामा सङ्घीय र प्रदेश सरकारका दुई करोडदेखि २० करोड लागतका एक सय ३० खानेपानी आयोजना छन्। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङको पर्वत एकाइका इन्जिनियर प्रेम थापाले सात स्थानीय तहमा रहेका ती आयोजना सम्पन्न गर्न करिब एक अर्ब ८० करोड बजेट आवश्यक पर्ने बताए।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख सिनियर डिभिजनल इन्जिनियर किरण पौडेलले बर्सेनि कम्तीमा ५० करोड बजेट आवश्यक पर्नेमा चालु आर्थिक वर्षमा १८ करोड ९० लाख मात्र अख्तियारी आएको बताए।

‘यो वर्ष आवश्यक बजेटको १० प्रतिशत मात्र विनियोजन भएको छ’, पौडेलले भने, ‘हामीले द्रुतगतिमा काम गर्छौं भने पनि बजेट अभावले कार्यान्वयनमा रहेका योजना पनि सोअनुसार अगाडि बढाउन सकेका छैनौं। त्यसैले धेरै योजना भग्नावशेषमा परिणत हुँदैछन्।’

यहाँका अधिकांश आयोजना लागत साझेदारीमा सञ्चालित छन्। उपभोक्ताले २० प्रतिशत श्रमदान र मर्मतसम्भार कोषमा एक प्रतिशत नगद लगानी गर्नुपर्ने नियम छ।

‘एक घर एक धारा पुर्‍याउने सङ्घीय र प्रदेश सरकारको लक्ष्य भए पनि पर्याप्त बजेट नहुँदा १६ वर्षअघि देखिका योजनासमेत पूरा हुन सकेका छैनन्, यद्यपि करिब १५ हजार घरमा एक घर एक धारा जडान भएको छ’, कार्यालय प्रमुख पौडेलले भने, ‘योजना थप्दै जाने तर पर्याप्त बजेट विनियोजन नहुने समस्याले अधुरा र अपूरा योजनाको संख्या बढ्दै गएका छन्। अब बजेटको आकार बढाउन पहल गर्नुपर्ने आवश्यकता छ।’ –रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *