प्रलोभनमा पारेर हिंसा हुने गरेको छ, हिंसा शून्य पार्ने गरी काम गर्नुस् : मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी (Bhagawati Chaudhary) ले महिला सम्बन्धी कार्यक्रम सञ्चालन गर्दा आर्थिक तथा सामाजिक रूपले पछाडि पारिएका व्यक्तिलाई लक्षित गर्नुपर्ने बताएकी छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विश्व बैङ्कको सहकार्यमा सुरु गरेको “लैङ्गिक हिंसा रोकथामका लागि एकीकृत विकास परियोजना”को शुभारम्भ गर्दै मन्त्री चौधरीले त्यस्तो बताइन् ।

मन्त्रालयले महिला तथा बालबालिका लक्षित कार्यक्रम सञ्चालन गर्दा सीमान्तकृत वर्ग, समुदायका व्यक्तिलाई समेट्नुपर्ने मन्त्री चौधरीको भनाइ छ । ‘जो थिचोमिचोमा परेका छन्, सीमान्तकृत समुदायका वर्ग तथा समुदायलाई समेट्नुपर्छ । अहिले ६ वटा पालिकामा यो परियोजना सञ्चालन भएको छ । यसलाई अझ बिस्तार गर्न आवश्यक छ’, मन्त्री चौधरीले भनिन् ।

यी क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दा मध्य पहाडी लोकमार्ग, तराई-पहाड फास्ट ट्रर्‍याकले छुने पालिकाहरू, सिमाना क्षेत्रका वर्ग, समुदायका उत्पीडित, सीमान्तकृत महिलाहरूलाई कार्यक्रम लक्षित गर्नुपर्ने उनले बताइन्।

परियोजनाले महिलाको सुरक्षा, सुरक्षित आवास, सेल्टर, अस्पतालहरूमा उपचार लगायतको विषय समेटिएको भन्दै उनले अझै पनि महिला हिंसाका घटनाहरूमा तत्काल रेस्पोन्स गर्ने खालको कार्यक्रमहरू अझ बढी आउन आवश्यक रहेको उल्लेख गरिन् । ‘महिला हिंसाका घटनाहरूको तत्काल रेस्पोन्स गर्नुस् । हिंसाका घटनाहरू अझै पनि रोकिएनन्, यसमा अझ बढी संवेदनशील भएर काम गर्नुस्’, उनले भनिन् ।

विकास साझेदार संस्थाहरूलाई आग्रह गर्दै मन्त्री चौधरीले चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रण जस्ता घटनाहरूमा बढी संवेदनशील भएर काम गर्न आग्रह गरिन् । मन्त्री चौधरीले भनिन्, ‘यो परियोजना सञ्चालन भएका पालिकाहरूमा पालिका आफैँले लैङ्गिक हिंसा न्यूनीकरणको कार्यक्रम सञ्चालन गर्न सक्छ । पालिकाहरूलाई म त्यसरी जान आग्रह गर्दछु ।’

विभिन्न प्रलोभनमा पारेर लैङ्गिक हिंसा हुने गरेको भन्दै उहाँले त्यसलाई न्यूनीकरण हुनेगरी काम गर्न आग्रह गरिन् । ‘अहिलेको अवस्थामा हरेक जसो ठाउँमा हिंसा हुने गरेको तथ्याङ्क छ । पद दिन्छु । जागिर लगाइदिन्छु विभिन्न प्रलोभनमा पारेर हिंसा हुने गरेको छ’, मन्त्री चौधरीले भनिन्, ‘त्यसको अन्त्य हुनेगरी यो परियोजनाले काम गरोस् ।’

गरिबीको रेखामुनि रहेका व्यक्तिको आर्थिक अवस्था माथि उठाउने काम गर्न आग्रह गर्दै उनले परियोजना गएका पालिकाहरूमा महिला हिंसा शून्य पार्ने गरी काम गर्न आग्रह गरिन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *