जेनजी आन्दोलनको छानबिन गर्न आयोग बनाउने प्रक्रिया अघि बढ्यो

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग बनाउने प्रक्रिया अघि बढेको छ ।

सरकारले घटनामा राज्य पक्षबाट भएको कमजोरी र दोषीबारे जाँच गर्न आयोग बनाउने प्रक्रिया अघि बढाएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ‘अब बस्ने पहिलो क्याविनेटबाटै यसबारे निर्णय हुनेछ’, ती अधिकारीले भने ।मन्त्रालयमा विज्ञको रोस्टर तयार गरेर आयोग गठनबारे छलफल गरिएको थियो । आयोगको क्षेत्राधिकार (टीओआर) समेत टुंगो लागिसकेको छ ।

स्रोतका अनुसार, आयोगका नेतृत्व विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले गर्ने सम्भावना छ । ‘अरु केहीको नाम पनि आएका छन्, तर अहिलेसम्म उहाँकै नेतृत्वमा आयोग बनाउने भन्ने छ’, ती अधिकारीले भने, ‘भ्रष्टाचारविराधी छवि भएकाले पनि उहाँलाई छान्न लागिएको हो ।’

उनी नेतृत्वको आयोग तीन सदस्यीय रहनेछ । सदस्यहरुको नाम समेत लगभग टुंगो लागिसकेको छ । नेपाली सेनाको सहजिकरणमा जेनजीसँग भएको छलफलपछि राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीको नेतृत्वमा सरकार गठन प्रक्रिया अघि बढाएका थिए । कार्कीले मन्त्रिपरिषद् विस्तार गरेपछि बसेको पहिलो बैठकले जेनजी आन्दोलनमा भएको दमनको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *