पविन र निश्चलको जोडीलाई उपाधि

नेपाली सेनाका पविन लिङ्थेप र भोजपुरका निश्चल खत्रीको जोडी भोजपुरमा सम्पन्न साताैं मेयर कप खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ।

पुरुष युगल फाइनलमा पविन र निश्चलको जोडीले नेपाली सेनाका नरेन्द्र बम र हिमाल चन्दको जोडीलाई हराएर उपाधि जितेको हो। पविन र निश्चलको जोडीले २१-१८, २०-२२, २१-११ ले सफलता प्राप्त गरेको थियो। विजयी जोडीले नगद ५० हजार र उपविजेताले नगद २५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

तेस्रो हुने एपिएफका भोजबहादुर गुरुङ र भोजपुरका लाक्पा शेर्पा तथा संखुवासभाका सुनील कार्की र भोजपुरका महेश खड्काको जोडीले नगद १२-१२ हजारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

मिक्स डबल्स खुलातर्फ भोजपुरकी नङ्सल तामाङ र एपिएफका भोजबहादुर गुरुङको जोडीले उपाधि जित्यो। उक्त जोडीले संखुवासभाका सुनील कार्की र इलामकी निसम सुब्बालाई २१-१७, २१-११ ले पाखा लगाउँदै उपाधि उचालेको हो।

उदयपुरका विनय चौधरी र फिदिमकी छाया केरुङ तथा सेनाका नरेन्द्र बम र रिहाना शेरचनको जोडी संयुक्त तेस्रो भए। विजयी जोडीले नगद ५० हजार, उपविजेताले नगद २० हजार र तेस्रो हुनेले नगद १० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

आधारभूत स्तरबाटै ब्याडमिन्टन खेलको विकासका साथै शारीरिक तन्दुरुस्ती, मानसिक सचेत र सामूहिक भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको यु- १५ गल्र्सतर्फको प्रतिस्पर्धामा सेनाकी रिहाना शेरचनले आफ्नै क्लबकी संवृद्धि श्रेष्ठलाई २१-१६, २१-५ ले पराजित गर्दै जित हात पारिन्। तेस्रो स्थानमा बेलटार ब्याडमिन्टन एकेडेमीकी दिया राई र भोजपुरकी नदिरा तामाङ रहे।

यस्तै बोइजतर्फ सेनाका सुविन श्रेष्ठले आफ्नै क्लबका सुदेश राजकोटीलाई पराजित गर्दै उपाधि जिते। सुविनले सुदेशमाथि २१-१०, २१-१७ को जित निकालेका हुन्। एनटिएससीका सुजल चौधरी र भोजपुरका सदीप राई संयुक्त तेस्रो भए। यु- १५ तर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश १५ हजार, १० हजार र ५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

विजयी खेलाडीलाई भोजपुरका मेयर, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, महासचिव वीरेन्द्र श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा देशभरिबाट १४५ खेलाडीको सहभागिता रहेको प्रतियोगिताका संयोजक पूर्व युगल च्याम्पियन विवेक श्रेष्ठले जानकारी गराए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *