स्किन केयरको पहिलो चरण क्लेन्जिङ हो । यसका लागि बजारमा विभिन्न प्रकारका क्लेन्जर र फेस वास पाइन्छन् । तर यी उत्पादन महँगा मात्र नभइ रासायनिक तत्त्वयुक्त पनि हुन्छन् । सुखद पक्ष के हो भने हाम्रो भान्सामै यस्ता धेरै सामग्री उपलब्ध छन्, जसबाट सजिलै घरमै फेस वास बनाउन सकिन्छ । यो घरेलु फेस वासले छालालाई गहिरोसम्म सफा गर्छ र पिम्पल्स, अतिरिक्त तेल तथा निस्तेजपनको समस्याबाट राहत दिन सहयोग पुर्याउँछ ।

फेस वास बनाउन आवश्यक सामग्री
२ चम्चा बेसन
१ चम्चा कस्तुरी बेसार
२ चम्चा चन्दन पाउडर
१ चम्चा मुल्तानी माटो
१ चम्चा चामलको पीठो
एउटा एयरटाइट कन्टेनर
फेस वास बनाउने तरिका
सबै सामग्रीलाई एउटै भाँडोमा राखेर राम्रोसँग मिसाउनुहोस् । प्रयोगका लागि २ चम्चा मिश्रणमा गुलाबजल मिसाएर पेस्ट तयार गर्नुहोस् । छाला सुख्खा छ भने गुलाबजलको सट्टा दूध वा मह मिसाउन सकिन्छ । तयार पेस्ट अनुहारमा १०–१५ मिनेटसम्म लगाएर राख्नुहोस् र त्यसपछि चिसो पानीले अनुहार धुनुहोस् ।
फेस वासका फाइदा
घरमै बनाइएको यो फेस वास छालाका लागि बहुउपयोगी छ । बेसनले अनुहारको फोहोर, पसिना र अतिरिक्त तेल हटाएर छालालाई गहिरोसम्म सफा गर्छ र मृत कोष हटाउन मद्दत गर्छ । कस्तुरी बेसारमा रहेका एन्टिब्याक्टेरियल गुणले पिम्पल्स र डन्डीफोर कम गर्न सहयोग गर्नुका साथै छालालाई सफा र चम्किलो बनाउँछ । चन्दन पाउडरले छालालाई शीतलता प्रदान गर्छ, जलन र रातोपन घटाउँछ र प्राकृतिक चमक ल्याउन मद्दत गर्छ ।
मुल्तानी माटोले पोर्स सफा गरी अतिरिक्त तेल नियन्त्रण गर्छ । यसले तेलीय तथा पिम्पल९प्रोन छालालाई लाभ पुर्याउँछ । चामलको पीठोले छालालाई प्राकृतिक रूपमा एक्सफोलिएट गरी ट्यानिङ कम गर्छ र रंगत निखार्न सहयोग गर्छ । यी सबै सामग्रीबाट बनेको फेस वासले छालालाई सफा, मुलायम र स्वस्थ राख्न मद्दत गर्छ ।
ध्यान दिनुपर्ने कुरा
पहिलो पटक प्रयोग गर्नु अघि प्याच टेस्ट अवश्य गर्नुहोस् । राम्रो परिणामका लागि दिनमा दुई पटक—एकपटक बिहान र अर्को पटक राति सुत्नुअघि—प्रयोग गर्नु उपयुक्त हुन्छ । नियमित प्रयोगले अनुहारका दाग–धब्बा कम गर्न र प्राकृतिक चमक बढाउन सहयोग पुर्याउँछ । डिस्क्लेमर स्यो सामग्री केवल जानकारीका लागि हो । आफ्नो स्किन केयरमा कुनै पनि परिवर्तन गर्नुअघि सम्बन्धित विशेषज्ञको सल्लाह अवश्य लिनुहोस ।








