२०८२ चैत १२ , बिहीबार

सुदूरपश्चिममा ‘भिटौलो’ पर्व सुरु



बैतडी । चैत महिना सुरु भएसँगै बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत ‘भिटौलो’ पर्व मनाउन थालिएको छ । बैतडी, दार्चुला, डडेल्धुरा र बझाङलगायतका जिल्लामा चैत महिनाभर माइती पक्षका दाजुभाइले विवाहित दिदीबहिनीलाई उनीहरूको घरमै पुगेर भेट्ने चलन रहिआएको छ ।

यस अवसरमा दाजुभाइ तथा आफन्तले मीठोमसिनो परिकार, फलफूल, कपडा तथा अन्य सामग्री लिएर छोरीबहिनीको घरमा पुग्ने परम्परा छ । भेटघाटका क्रममा एक–दुई दिन ससुरालीमै बसेर परिवारबीच दुःखसुख साटासाट गर्ने चलन रहेको स्थानीय संस्कृतिका जानकार धीरबहादुर बिष्टले बताए ।

पहाडबाट तराईतिर बसाइँ सरेका परिवारले पनि यो परम्परालाई निरन्तरता दिँदै आएका छन् । टाढा बसोबास गर्नेहरू पनि सकेसम्म चैत महिनामै छोरीबहिनीलाई भेट्न जाने प्रयास गर्ने गर्छन् । चैत महिनाभित्र दिदीबहिनीलाई भेट्न नजाँदा अपशकुन हुने विश्वास पनि समाजमा रहेको बिष्टले बताए ।

यही कारण दाजुभाइको प्रतीक्षामा दिदीबहिनीहरूले बाटो कुर्ने चलन अझै जीवित रहेको उनको भनाइ छ । आफ्ना दाजुभाइ नहुने महिलालाई छिमेकी वा गाउँका अन्य दाजुभाइले पनि गएर भेट्ने परम्परा रहेको पाइन्छ ।

भिटौलो पर्वलाई माइतीघरबाट पराइघर गएकी दिदीबहिनीप्रति माया, सम्मान र आत्मीयता प्रकट गर्ने अवसरका रूपमा लिइन्छ । यसले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने सांस्कृतिक पहिचानको रूपमा मानिन्छ ।

पहिले भिटौलो जाँदा घरमै उपलब्ध अन्नबाली तथा घरेलु परिकार लिएर जाने चलन थियो भने पछिल्लो समय बजारबाट किनेर लैजाने सामग्रीको प्रयोग बढ्दै गएको पाटन नगरपालिका–३ का स्थानीय हेमन्ती पन्तले बताए ।

भिटौलो पर्वका कारण चैत महिनाभर स्थानीय बजारमा पनि चहलपहल बढ्ने गरेको व्यापारी बिरेन्द्र भट्टले बताए । परम्परादेखि चल्दै आएको यो चलन आज पनि सुदूरपश्चिमका समुदायमा दाजुभाइ र दिदीबहिनीबीचको मायाको प्रतीकका रूपमा जीवित रहेको शैल्यशिखर नगरपालिका–४ का स्थानीय धाना भट्टले बताए ।

प्रकाशित मिति : २०८२ चैत २ गते सोमबार