भैरहवा । भैरहवा र आसपासका क्षेत्रमा एलपी ग्यासको अभाव देखिएसँगै नेपाल–भारत सीमामा ग्यास तस्करी गर्ने प्रयास बढेको पाइएको छ । प्रहरीले अवैध रूपमा ओसारपसार गर्न लागिएका नौ वटा भरिएका ग्यास सिलिन्डर नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार भारतबाट नेपालतर्फ ल्याइँदै गरेको तथा नेपालबाट भारततर्फ लैजान खोजिएको गरी नौ वटा ग्यास सिलिन्डर नियन्त्रणमा लिइएको हो । सीमावर्ती क्षेत्रमा गरिएको निगरानीका क्रममा ती सिलिन्डर बरामद गरिएको प्रहरीले जनाएको छ ।
रुपन्देहीका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले पछिल्लो समय सीमामा ग्यास ओसारपसार गर्ने प्रयास देखिएकाले निगरानी कडा पारिएको बताए । भारततर्फ ग्यासको मूल्य बढी हुनुका साथै त्यहाँ अभाव देखिएकाले नेपालबाट ग्यास लैजान खोजिएको उनको भनाइ छ । यता भैरहवा र आसपासका बजारमा भने ग्यास अभाव देखिएको छ । उपभोक्ताले सहज रूपमा ग्यास सिलिन्डर नपाउँदा दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था रहेको छ । धेरै पसलले स्टक सकिएको भन्दै उपभोक्तालाई फर्काउने गरेका छन् ।
भैरहवा भन्सार कार्यालयले भने ग्यास आयातमा कुनै कमी नभएको जनाएको छ । भन्सार प्रमुख हरिहर पौडेलका अनुसार निर्वाचनका कारण एक–दुई दिन आयातमा सामान्य अवरोध भए पनि अहिले आयात पुनः नियमित भइसकेको छ ।
एलपी ग्यासको आयातमा अहिले कुनै समस्या छैन, उनले बताए यस नाकाबाट दैनिक करिब १० देखि १५ वटा ग्यास बुलेट आउने गरेका छन् । स्थानीय ग्यास विक्रेताका अनुसार अन्तर्राष्ट्रिय परिस्थितिका कारण ग्यास अभाव हुन सक्ने आशङ्काले उपभोक्ताले एक्कासि धेरै सिलिन्डर भरेर मौज्दात राख्न थालेपछि बजारमा अभाव देखिएको हो ।
ग्यास विक्रेता सङ्घ रुपन्देहीका उपाध्यक्ष राममिलन यादवका अनुसार पहिले भैरहवा, लुम्बिनी, छपिया, धकधई र मर्चवार क्षेत्रमा दैनिक करिब १,५०० देखि २,००० सिलिन्डरसम्म बिक्री हुने गरेको थियो ।
पछिल्लो समय माग झन्डै दोब्बर बढेकाले बजारमा आपूर्तिमा दबाब परेको यादवले बताए । उपभोक्ताको मौज्दात गर्ने प्रवृत्ति, सीमामा भइरहेको ग्यास ओसारपसार तथा अचानक बढेको मागका कारण भैरहवा क्षेत्रमा ग्यास अभाव देखिएको जनाइएको छ ।








