२०८३ जेठ १२ , मंगलबार

हिउँदे बालिमा जंगली जनावरको बढ्दो आतंक



सल्यान । जंगली जनावरको उपद्रो बढ्दै जाँदा किसानहरू गम्भीर समस्यामा परेका छन् । विशेषगरी बँदेलले वर्षायाम मात्र नभई हिउँदयाममा समेत बालीमा क्षति पु¥याउन थालेपछि किसानहरू दोहोरो मारमा परेका हुन् ।

वर्षायाममा मकैबालीमा ठूलो नोक्सानी पु¥याउने बँदेल, बाँदर र दुम्सी जस्ता जनावरले अहिले गहुँ, केराउ र तरकारी बालीसमेत सखाप पार्न थालेका छन् । कपुरकोट, सिद्धकुमाख, छत्रेश्वरी, बनगाड कुपिण्डे लगायतका अधिकांश पालिकाका किसान यस्तै समस्याबाट पीडित छन् ।

कपुरकोट गाउँपालिका–३ लामिडाँडाका किसानहरूका अनुसार बँदेलले रातिको समयमा बारीमा पसेर गहुँको बाला खाने, गोयार हालेर बाली नष्ट गर्ने तथा तरकारी समेत सखाप पार्ने गरेको छ ।
स्थानीय किसान नन्दी कवरका अनुसार बाली जोगाउन नसकेपछि बाध्य भएर काँचै अवस्थामा गहुँ काट्नुपरेको छ ।

सिँचाइको सुविधा छैन, मेहनत गरेर लगाएको बाली पाक्नै नदिई बँदेलले सखाप पार्न थालेपछि काँचैमै काट्नुपरेको छ उनले दुखेसो पोखिन् । अर्का किसान चन्द्रबहादुर वलीले रातभरि बारीमा पहरा दिँदा पनि बँदेलबाट जोगाउन नसकिएको बताए । राति बारीमै बस्दा पनि कतिखेर बँदेल आएर सबै बाली नष्ट गर्छन्, थाहा हुँदैन उनले भने ।

स्थानीयका अनुसार बँदेलको संख्या बढ्दै जाँदा नियन्त्रण गर्न कठिन हुँदै गएको छ । परम्परागत रूपमा प्रयोग गरिने धपाउने उपायहरू प्रभावकारी हुन नसक्दा समस्या थप जटिल बनेको छ । किसानहरूले स्थानीय तह र सम्बन्धित निकायसँग जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि ठोस योजना ल्याउन माग गरेका छन् । उनीहरूले क्षतिपूर्ति व्यवस्था, खेतबारीमा तारबार तथा प्रभावकारी नियन्त्रण उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

प्रकाशित मिति : २०८२ चैत ६ गते शुक्रबार