२०८३ जेठ १२ , मंगलबार

महिलाद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ



हुम्ला । जिल्लाको सदरमुकाम सिमकोटमा लामो समयदेखि खानेपानीको चरम अभाव भएपछि स्थानीय महिलाहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । गत फागुन २२ गतेदेखि सिमकोट बजारमा धारामा पानी नआएको गुनासो गर्दै बजार क्षेत्रका एकताचोक र काठेचुलीका महिलाहरू मङ्गलबार प्रशासन कार्यालय पुगेका थिए ।

सिमकोट गाउँपालिका–५ र ६ का स्थानीयले करिब १० दिनदेखि पानी नआएको भन्दै प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको ध्यानाकर्षण गराएका हुन् । प्रदर्शनका क्रममा महिलाहरूले खाली ग्यालेन, ड्रम र बाल्टिन बोकेर प्रशासन कार्यालयको मूल गेटमा धर्ना दिएका थिए ।

स्थानीय उद्गम बुढाका अनुसार, पटक–पटक गाउँपालिकासँग खानेपानीको व्यवस्था गर्न माग गर्दा पनि कुनै सुनुवाइ भएको छैन । फागुन ३० गते समस्या समाधानका लागि गाउँपालिकामा निवेदन दिए पनि त्यसको कार्यान्वयन नभएको उनले बताए ।

हाल बजारका केही धारामा मात्र धमिलो पानी आउने गरेको छ । सिमकोट खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण सेवाग्राहीले सास्ती खेप्नुपरेको स्थानीयको गुनासो छ । गाउँपालिकाबाट प्रतिक्रिया नआएपछि चैत ३ गतेदेखि प्रशासन कार्यालय धाउनुपरेको अर्की स्थानीय निर्मला ऐडीले जानकारी दिए ।

प्रदर्शनका क्रममा महिलाहरूले खानेपानीको तत्काल व्यवस्थापन गर्न माग गर्दै प्रशासनसमक्ष निवेदन पनि पेश गरेका छन् । यस विषयमा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले समस्या त्यति गम्भीर नभएको दाबी गर्दै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीसँग छलफल गरिएको जानकारी दिए । अध्यक्ष भण्डारीले समस्या छिट्टै समाधान गर्ने प्रतिबद्धता जनाएपछि धर्नामा बसेका महिलाहरू फर्किएको बताइएको छ ।

प्रकाशित मिति : २०८२ चैत ६ गते शुक्रबार