२०८३ असोज २० , मंगलबार

सहिद पार्कमा डेढ लाख पर्यटक



सुर्खेत, असोज २० गते । वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको प्रादेशिक सहिद पार्क तथा वनस्पति उद्यान करिब डेढ लाख आन्तरिक पर्यटकले अवलोकन गरेका छन् । कर्णाली प्रदेश सरकारले भैरम सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र २०७७ सालमा सहिदको सम्झनामा पार्क निर्माण गरेको हो । पार्क निर्माण भएपछि बर्सेनि एक लाखभन्दा बढी आन्तरिक पर्यटक अवलोकन गर्न आउने गरेका छन् ।

आर्थिक वर्ष २०८२/८३ मा एक लाख ४० हजार तीन सय जना आन्तरिक पर्यटकले सहिद पार्कको अवलोकन गरेका थिए । यसबाट पार्कमा २८ लाख छ हजार रुपियाँ आम्दानी भएको छ । त्यसअघिका आव २०८१/८२ मा पार्कको एक लाख ५७ हजार एक् सय जनाले अवलोकन गरेका थिए । त्यसबाट ३१ लाख ४२ हजार रुपियाँ आम्दानी भएको थियो । पार्क अवलोकनका लागि प्रतिव्यक्ति २० रुपियाँ शुल्क तोकिएको छ ।

पार्कमा सहिद स्तम्भ, ठुला तथा साना पाँच वटा पानीका फोहरा, बालबगैँचा, गुलाफको बगैँचा, बाघ, हात्तीका मूर्तिलगायत विभिन्न वनस्पतिका बोट छन् । घनाजङ्गलको बिचमा भएको पार्क प्रवेश गर्दा नै मनमा शान्ति महसुस हुने भएकाले आन्तरिक पर्यटकको रोजाइ पार्क पर्ने गरेको छ । पार्क अवलोकन गर्न आउनुभएका स्थानीय सुमन सारूले पार्कमा आउनासाथ प्राकृतिक सुन्दरताले मोहनी लगाउने गरेको बताउनुहुन्छ । उहाँले यो पार्कमा अझै आकर्षक मूर्ति राख्न सके पर्यटकको आगमन अझ बढ्ने बताउनुहुन्छ ।

पार्क सञ्चालन तथा व्यवस्थापन गरिरहेको भैरम सामुदायिक वन उपभोक्ता समूहले बर्सेनि पार्कमा सुविधा थपिँदै आएको जनाएको छ । समूहका अध्यक्ष इन्द्रा चालिसे भन्नुहुन्छ, “पार्कभित्र बर्सेनि कम्तीमा एउटा नयाँ संरचना थप हुँदै गएको छ । विभिन्न आकर्षक मूर्तिसँग पार्कलाई मनमोहक बनाउन र वनस्पति उद्यानका रूपमा विकास गर्न बहुमूल्य जडीबुटीको वृक्षरोपण गरिएको छ ।” पार्क अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा केही महिना कमी आइरहेको छ । उहाँले अन्यत्र पनि पार्क बनाइएकाले सहिद पार्कमा आउने पर्यटकको सङ्ख्यामा कमी आए पनि पार्कलाई थप आकर्षित बनाउने काम भइरहेको उल्लेख गर्नुभयो ।

पछिल्लो समय पार्कको आम्दानीमा प्रदेश सरकारले पर्यटन कर ९रोयल्टी० ४० प्रतिशत पुर्‍याएकोमा आपत्ति जनाउँदै उहाँले त्यसलाई घटाउन माग गर्नुभयो । विगतमा पार्कको कुल आम्दानीको १० प्रतिशत प्रदेश सरकारलाई बुझाउने भनिएको र सोही अनुसार गरिएको तर गत आवदेखि छलफल र समन्वयबिना नै एक्कासि ४० प्रतिशत पु¥याइएको छ । पार्कको कुल आम्दानीको करिब आधा रकम रोयल्टी बुझाउने हो भने पार्कमा संलग्न कामदार र पार्कलाई आकर्षित बनाउने योजना बनाउन नसकिने अध्यक्ष चालिसेको भनाइ छ । त्यसैले पर्यटन शुल्कलाई ४० प्रतिशतबाट घटाउन उहाँले प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०८३ असोज २० गते मंगलबार