२०८३ भदौ ३१ , बुधबार

कुन्टी ज्येष्ठ नागरिकद्वारा बाढी पीडितलाई सहयाेग



सुर्खेत । वीरेन्द्रनगर –१० सुर्खेतमा रहेको कुन्टी ज्येष्ठ नागरिक समाजले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।

समाजमा आबद्ध ज्येष्ठ नागरिकहरूले आफूहरूले पाउँदै आएको सामाजिक सुरक्षा भत्ताबाट बचत गरेको रकम संकलन गरी बाढीपीडितका लागि सहयोग गरेका हुन्।

ज्येष्ठ नागरिकहरूले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु मानवीय दायित्व भएको भन्दै आफ्नो क्षमताअनुसार रकम संकलन गरेका हुन्।

सहयोग रकम हस्तान्तरण गर्दै ज्येष्ठ नागरिक भीमप्रसाद शर्माले रकम थोरै भए पनि सहयोगको भावना ठूलो भएको बताउनुभयो।

उहाँले आफूहरूले पाउँदै आएको सामाजिक सुरक्षा भत्ताबाट केही रकम बचाएर बाढीपीडितका लागि सहयोग गरेको बताउनुभयो।

यस्तै, कुन्टी ज्येष्ठ नागरिक समाजका अध्यक्ष टीकाराम गौतमले विपद्को समयमा पीडित नागरिकको दुःखमा साथ दिन समाजका ज्येष्ठ नागरिकहरूले आफ्नो तर्फबाट सहयोग गरेको बताउनुभयो।

उहाँले ज्येष्ठ नागरिकहरूले आफ्नो दैनिक आवश्यकताबाट केही रकम बचाएर विपद्मा परेका नागरिकका लागि सहयोग गर्नु समाजप्रतिको जिम्मेवारी र मानवीय भावनाको उदाहरण भएको बताउनुभयो।

समाजले संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको छ।

 

प्रकाशित मिति : २०८३ भदौ ३१ गते बुधबार