कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले धान उत्पादन वृद्धि गर्ने लक्ष्यसहित किसानलाई उन्नत जातका धानको बीउमा ५० प्रतिशत अनुदान दिने कार्यक्रम अघि बढाएको छ । नगरपालिकाको कृषि विकास शाखाका अनुसार चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार सावा मन्सुली, रामधान, राधा–४, हर्दिनाथ–३, हर्दिनाथ–६, सर्जु–५२ तथा सुक्खा–३ र ६ जातका धानको बीउ खरिद गरी वितरण गरिनेछ ।

यी बीउ समूह, सहकारी र कृषि फर्ममार्फत किसानसम्म पु¥याइने तयारी गरिएको छ । कृषि विकास शाखा प्रमुख करनसिंह बुढाऐरका अनुसार स्थानीय माटो र वातावरणअनुकूल जातको छनोट गरी करिब १७ मेट्रिकटन धानको बीउ वितरण गरिनेछ ।
यस कार्यक्रमले धान उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ । नगरपालिकाले प्रति किलो ७८ रुपैयाँका दरले बीउ खरिद गरी आधा मूल्यमा किसानलाई उपलब्ध गराउने जनाएको छ । यसबाट किसानको लागत घट्नुका साथै उत्पादन वृद्धि भई खाद्य सुरक्षामा टेवा पुग्ने विश्वास गरिएको छ ।








