सुर्खेत । वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएको पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५, रेक्चा गाउँमा अब पानी ल्याउने तयारी भएपछि स्थानीयमा आशा जागेको छ । गाउँमा खानेपानी सुविधा विस्तार भएपछि बसाइँसराइको क्रम रोकिने विश्वास गरिएको छ । गाउँबाट करिब तीन किलोमिटर टाढा रहेको खोलाको मुहानबाट पानी ल्याइँदै छ । ट्याङ्की निर्माण लगायतका काम तीव्र रूपमा भइरहेका छन् र आगामी साउन महिनादेखि पानी वितरण गर्ने लक्ष्य राखिएको छ ।

बेलायतका पूर्वगोरखा सैनिकको संस्था कादुरी एग्रिकल्चरल एसोसिएसनको सहयोगमा खारगाडीको तुसारेपानी मुहानबाट पानी ल्याउने योजना अघि बढाइएको हो । यसअघि संस्थाका निर्देशक डा. नारायण गुरुङसहितको टोलीले स्थलगत अवलोकनसमेत गरेको थियो । स्थानीय तपेन्द्रबहादुर बुढाक्षेत्रीका अनुसार हाल चारवटा ट्याङ्की निर्माणको काम भइरहेको छ ।
मुहानबाट पानी ‘डबल लिफ्ट’ प्रविधिबाट गाउँमा ल्याइनेछ । यसअन्तर्गत २५ हजार लिटर क्षमताका दुई ट्याङ्कीमा पानी संकलन गरिनेछ भने गाउँको अग्लो स्थानमा ५० हजार लिटरको एक र २५ हजार लिटरको अर्को ट्याङ्की निर्माण गरिँदै छ ।
करिब पाँच करोड रुपैयाँ लागतमा सञ्चालन भइरहेको यो योजना असार १५ भित्र सम्पन्न गर्ने लक्ष्य छ । यसअघि गाउँमा पानीको समस्या समाधानका लागि डिप बोरिङ गरिएको थियो । करिब ९० मिटर गहिराइसम्म खनिए पनि पर्याप्त पानी नआएपछि स्थानीयले नयाँ मुहान खोज्ने प्रयास गरेका थिए ।
त्यसक्रममा तुसारेपानी खोलाबाट पानी ल्याउने विकल्प तय गरिएको हो । मुहानसम्म पुग्ने बाटो नहुँदा कच्ची सडक निर्माणका लागि गाउँपालिकासँग आग्रह गरिएको छ । खानेपानीको चरम अभावका कारण पछिल्लो पाँच वर्षमा ५० भन्दा बढी घरधुरी गाउँ छोडेर अन्यत्र बसाइँ सरेका छन् ।
त्रिपाला, खेले लगायतका बस्तीबाट मात्रै करिब ५० घरधुरी विस्थापित भएका छन् । अहिले पनि रेक्चामा ६०–६५ घरधुरी बसोबास गरिरहेका छन्, जहाँ पानीको अभावले दैनिक जीवन निकै कष्टकर बनेको छ ।
हाल गाउँमा एउटा मात्र इनार रहेको छ, जसको पानी खडेरीका बेला पालैपालो प्रयोग गर्नुपर्छ। दैनिक करिब ६० लिटर पानी बाँड्नुपर्ने अवस्था रहेको छ । स्थानीय बुढाक्षेत्री भन्छन् गाउँमा पानी आएपछि अब बसाइँ सर्ने क्रम रोकिनेछ भन्ने आशा गरेका छौँ ।








