२०८३ वैशाख ११ , शुक्रबार

कर्णालीलाई इन्धनमा सहुलियत दिनुपर्छ: घिसिङ



सुर्खेत  ।  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले कर्णाली प्रदेशको विशेष भौगोलिक अवस्था र विकास चुनौतीलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थमा विशेष सहुलियत दिन सरकारसँग माग गरेका छन् । कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रममा सहभागी हुन सुर्खेत आएका अध्यक्ष घिसिङले विकट भूगोलका कारण यहाँ जीवनयापन, यातायात र वस्तु ढुवानी सबै क्षेत्रमा लागत बढी हुने भएकाले इन्धनमा मूल्य सहुलियत आवश्यक रहेको बताए ।

उनका अनुसार कर्णालीमा डिजेल, पेट्रोल र एलपी ग्यासजस्ता अत्यावश्यक इन्धनको मूल्य उच्च हुँदा जनजीवन मात्र नभई पर्यटन, व्यापार र विकास गतिविधिमा समेत प्रत्यक्ष असर परेको छ । उनले बाह्य तथा आन्तरिक पर्यटकको आवागमन सहज बनाउन इन्धन मूल्यमा विशेष व्यवस्था गर्नुपर्नेमा जोड दि ए। घिसिङले छिमेकी मुलुक भारतले समेत इन्धन मूल्यलाई स्थिरता दिने अभ्यास गरेको उल्लेख गर्दै नेपालमा पनि नागरिकमाथिको मूल्यवृद्धिको भार घटाउन सरकार गम्भीर हुनुपर्ने बताए । मूल्य व्यवस्थापनलाई वैज्ञानिक र क्षेत्रगत रूपमा स्तरीकरण गर्नुपर्ने सुझावसमेत उनले दिएका छन् ।

कार्यक्रममा बोल्दै उनले कर्णालीको विकासका लागि ऊर्जा पूर्वाधार अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा र सरकारमा हुँदा आफूले कर्णालीको विद्युतीकरण तथा ट्रान्समिसन लाइन विस्तारका लागि करिब ३५ अर्ब रुपैयाँ बराबरको लगानी सुनिश्चित गरिएको जानकारी उनले दिए । उनका अनुसार हाल सुर्खेतदेखि जुम्लासम्म एक सय ३२ केभी विद्युत् प्रसारण लाइन निर्माण कार्य अघि बढिरहेको छ, जसले कर्णालीका दुर्गम जिल्लाहरूमा विद्युत् आपूर्ति स्थिर बनाउन र औद्योगिक तथा आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुर्‍याउनेछ ।

घिसिङले कर्णालीको समग्र विकासका लागि ऊर्जा, यातायात र इन्धन नीतिमा विशेष ध्यान दिन सरकारलाई आग्रह गर्दै विकासको गति बढाउन दीर्घकालीन योजना आवश्यक रहेको बताए। उनले वर्तमान सरकारलाई काम गर्न सहज वातावरण बनाउन सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।कार्यक्रममा कर्णाली प्रदेशका अगुवा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो भने संगठन विस्तार र आगामी योजनाबारे पनि छलफल गरिएको जनाइएको छ।

प्रकाशित मिति : २०८३ वैशाख ७ गते सोमबार