कालीकोट । कालीकोटको रास्कोटमा इलाका प्रशासन कार्यालय (इप्रका) को औपचारिक उद्घाटन गरिएको छ । रास्कोट नगरपालिका, सान्नीत्रिवेणी, पचालझरना, पलाता र नरहरिनाथ गाउँपालिकालाई लक्षित गर्दै प्रदेश निर्वाचन क्षेत्र नम्बर ‘ख’ अन्तर्गत कार्यालय स्थापना गरिएको हो । गत वर्ष २०८२ भदौ ५ गते अर्थ मन्त्रालयले स्रोत सुनिश्चितताका लागि स्वीकृति दिएसँगै रास्कोटमा इप्रकाले सेवा सुरु गरेको थियो । आइतबार आयोजित औपचारिक कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य एवं कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यमा कार्यालय उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा बोल्दै सांसद शाहीले लामो प्रयास र संघर्षपछि रास्कोटमा प्रशासनिक सेवा विस्तार सम्भव भएको बताए। अब स्थानीय नागरिकले नागरिकता लगायतका सेवाका लागि सदरमुकाम मान्म धाउनुपर्ने बाध्यता अन्त्य भएको उनले उल्लेख गरे । जिल्ला समन्वय समिति प्रमुख धनजित शाहीले इलाका प्रशासन कार्यालय स्थापनाले साविकका १७ गाउँ विकास समितिका नागरिकलाई सेवा लिन सहज भएको भन्दै यसलाई सरकारको महत्वपूर्ण उपलब्धि भएको बताए । भौगोलिक रूपमा विकट कालीकोटमा नागरिकता तथा अन्य प्रशासनिक सेवाका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता लामो समयदेखि रहेको थियो । स्थानीयको माग र जनगुनासोलाई सम्बोधन गर्दै सरकारले इलाका प्रशासन कार्यालय स्थापना गरेको हो । एमालेका निर्वतमान जिल्ला उपाध्यक्ष दयाराम सिम्खडाका अनुसार यो कार्यालय सञ्चालनसँगै नागरिकले समय र खर्च दुवै बचत गर्न सक्नेछन् ।
उनका अनुसार अब नागरिकता बनाउनकै लागि कम्तीमा तीन दिनको यात्रा र करिब तीन हजार रुपैयाँ खर्च बच्नेछ । रास्कोटलाई केन्द्र बनाएर शिक्षा, स्वास्थ्य, पर्यटन र सरकारी सेवा विस्तार गर्ने प्रयासहरू सफल हुँदै गएको पनि उनले बताए सिम्खडाले रास्कोट इलाका प्रशासन कार्यालय स्थापना संघीयताको मर्मअनुसार सेवा विकेन्द्रीकरणको राम्रो उदाहरण भएको उल्लेख गरे । उनले कोटबाडा विमानस्थल सञ्चालन, मान्म–कोटबाडा केबुलकार वा पुल निर्माणजस्ता पूर्वाधार योजनामा पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।
यता, नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले भने रास्कोटमा कार्यालय स्थापना सबैका लागि समान रूपमा उपयुक्त नभएको टिप्पणी गरे । उनका अनुसार प्रदेश निर्वाचन क्षेत्र ‘ख’ अन्तर्गतका अन्य पालिकाका लागि रास्कोट उपयुक्त भए पनि नरहरिनाथका नागरिकका लागि सदरमुकाम मान्म अझ सहज र नजिक पर्छ। उनले रास्कोट पुग्न उल्टो बाटो र थप खर्च लाग्ने भएकाले आफ्नो क्षेत्रका नागरिकलाई मान्म नै उपयुक्त हुने बताए । यसरी विभिन्न सरोकारवालाबीच फरक धारणा भए पनि रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि कालीकोटका अधिकांश नागरिकले सरकारी सेवा सहज रूपमा पाउने अपेक्षा गरिएको छ ।









