२०८३ वैशाख १६ , बुधबार

बैंकले दियाे किसानलाई वित्तीय साक्षरता तालिम



सल्यान ।  नबिल बैंक लिमिटेड दार्मा शाखाले बाख्रा पालन व्यवसायमा संलग्न किसानलाई लक्षित गर्दै दुई दिने सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम प्रदान गरेको छ । दार्मा गाउँपालिकाको सहकार्यमा वैशाख १० र ११ गते गाउँपालिकाको सभा हलमा सञ्चालन गरिएको उक्त तालिममा ५५ जना किसानको सहभागिता रहेको थियो । तालिमको उद्घाटन सत्रमा दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले यस्ता कार्यक्रमले किसानहरूको क्षमता विकाससँगै वित्तीय साक्षरतामा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा पनि नबिल बैंकसँग सहकार्य गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

त्यसैगरी समापन सत्रमा गाउँपालिकाकी उपाध्यक्ष जुना मल्ल चन्दले बाख्रा पालन व्यवसायलाई व्यवस्थित र व्यावसायिक बनाउन तालिमले महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै आगामी दिनमा अझै प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आग्रह गरिन् । नबिल बैंकका अनुसार तालिममा बचत, बजेट निर्माण, ऋण व्यवस्थापन, डिजिटल वित्तीय साक्षरता, बिमा तथा लगानीका विकल्पबारे प्रयोगात्मक ज्ञान प्रदान गरिएको थियो। ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै उद्यमशीलता विकासमार्फत आत्मनिर्भरता बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

तालिममा पशु सेवा शाखा प्रमुख समीर न्यौपानेले बाख्रा पालनको महत्त्व, उन्नत जात छनोट, खोर व्यवस्थापन, आहार तथा प्रजनन व्यवस्थापन र रोग नियन्त्रणसम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए । साथै पशु स्वास्थ्य प्राविधिक कर्णबहादुर बुढाथोकीले घाँस खेती, दाना तयारी, परजीवी नियन्त्रण तथा मिनरल ब्लक प्रयोगबारे व्यवहारिक जानकारी गराएका थिए । सहभागी किसानहरूले तालिमबाट वित्तीय व्यवस्थापन, बजारीकरण तथा व्यवसायिक अवसर पहिचान गर्ने सीप हासिल गरेको जनाइएको छ । नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रममार्फत ग्रामीण क्षेत्रमा उद्यमशीलता प्रवर्द्धन गर्दै दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको जनाएको छ । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले सामाजिक उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा समुदाय सशक्तीकरणलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख १६ गते बुधबार