हुम्ला । हिल्सा नाका बन्द गरिएको छ । चीनसँग सिमाना जोडिएको यो उत्तरी नाका वैशाख पूर्णिमाका अवसरमा बन्द हुँदा हुम्ला जिल्लामा हुने दैनिक उपभोग्य सामग्रीको आयात प्रभावित भएको छ । चीनको पुराङ काउन्टी अन्तर्गत पर्ने ताक्लाकोट क्षेत्रमा चाडपर्वका कारण सार्वजनिक बिदा दिइएकोले नाका अस्थायी रूपमा बन्द गरिएको हो । यससँगै ताक्लाकोटबाट हिल्सा हुँदै नेपाल भित्रिने सामानको आवागमन पूर्ण रूपमा रोकिएको छ । सशस्त्र प्रहरी बल को सीमासुरक्षा चौकी हिल्साका सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण दाहालका अनुसार शनिबारदेखि बुधबारसम्म नाका बन्द रहनेछ ।
उनले वैशाख पूर्णिमाको अवसरमा चीनतर्फ चाडपर्व मनाइने भएकाले सो अवधिभर आयातमा पूर्ण रोक लगाइएको जानकारी दिए । हिल्सा नाका हुम्ला जिल्लाको प्रमुख व्यापारिक नाका हो, जहाँबाट खाद्यान्न, लत्ताकपडा, निर्माण सामग्रीलगायतका वस्तुहरू आयात हुँदै आएका छन् । नाका बन्द हुँदा स्थानीय बजारमा आपूर्ति प्रभावित हुने र केही सामग्रीको अभाव हुन सक्ने स्थानीय व्यापारीहरूको भनाइ छ । यद्यपि, नाका केही दिनपछि पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ । नियमित आपूर्ति प्रणाली कायम राख्न स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूले आवश्यक समन्वय गरिरहेका छन् ।


